‘पशुपति प्रसाद २ः भष्मे डन’मा वर्षाको प्रवेश


फिल्म ‘पशुपति प्रसाद’मा छोटो भूमिकामा काम गरेर पनि राम्रै चर्चा पाएकी नायिका वर्षा सिवाकोटीले ‘पशुपति प्रसाद २ः भष्मे डन’मा काम गर्न नपाउँदा खिन्नता प्रकट गरेकी थिइन् । ७ बर्ष अगाडि निर्माण भएर सुपरहिट भएको यो फिल्मको सिक्वेललाई निर्देशक दीपेन्द्र के खनालले भष्मे डन नामक पात्रलाई केन्द्रमा राखेर अगाडि बढाउने तयारी गरेका छन् । 

फिल्मको घोषणा कार्यक्रममा पनि वर्षा नहुने जानकारी दिइएको थियो । तर, शुक्रबार बिहान आयोजित मुहूर्त समारोहमा भने वर्षा पनि पुगिन् । योसँगै फिल्ममा वर्षा सिवाकोटीले पनि काम गर्ने पक्का भएको बुझिएको छ । वर्षाले आफ्नो भूमिकाको विषयमा भने केही पनि बोलिनन् । तर, हरेक दर्शकको मनमा फिल्म बसेको बताइन् । 

फिल्मका नायक विपिन कार्कीले भने वर्षा खगेन्द्र लामिछानेको जोडीको रुपमा देखिने खुलासा गरे । वर्षा विगत केही दिनदेखि डिभोर्सको खबरले चर्चामा छन् । उनले, आशिष गेलालसँग बिहे गरेको ९ महिनामै डिभोर्स गरेकी थिइन् । वर्षाले यसलाई व्यक्तिगत कुरा भएको र मिडियाले आ आफ्नो तरिकाले वुझ्न सक्ने टिप्पणी गरिन् । 

वर्षाले फिल्म ‘कामिनो’ पनि साइन गरिसकेकी छिन् । वर्षा आफू फिल्म क्षेत्रमा व्यस्त रहेको छनक दिन चाहन्छिन् ।