रेजिनालाई काउन्टर दिन मोहन निरौलाले गरे प्यानल घोषणा, महासचिवमा सविन श्रेष्ठ उम्मेदवार

चैत्र ४ गते हुन गईरहेको नेपाल चलचित्र कलाकार संघको १९ औँ महाधिवेशनबाट चुनिने नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि बरिष्ठ कलाकार मोहन निरौलाले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले एजेण्डासहित प्यानलबाट उम्मेदवारी दिने अन्यको नाम पनि सार्वजनिक गरेका छन्।

कलाकार सङ्घका वर्तमान उपाध्यक्ष तथा प्रवक्तासमेत रहेका कलाकार निरौला विगत ४४ वर्षदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय छन् । टेलिसिरियल देवीहरू, जीवन चक्र, भावना, राप तथा फिल्म जन्मभूमि, सन्तान, फेरि भेटौँला र आफ्नै निमार्णमा फिल्म पुकार लगायत करिब ६ दर्जन फिल्ममा निरौलाले अभिनय गरिसकेका छन्।

उम्मेदवारी घोषणा गर्दै निरौला भनेका छन्, “कलाकार सङ्घको अध्यक्ष पदमा मेरो उम्मेदवारीको मूल उद्देश्य कलाकारको मानसम्मान र हकहितको विषयमा काम गर्नु नै हो ।” कतिपय कलाकारहरू आर्थिक रूपमा विपन्न छन्, कलाकारका बिमाका विषय, कलाकार सङ्घको भवन तथा कार्यालय व्यवस्थापन, अन्तर्राष्ट्रिय विज्ञद्वारा प्रशिक्षण दिने व्यवस्था मिलाउने, कलाकारहरूलाई मिडिया मैत्री बनाउने, लैङ्गिक हिंसाको अन्त्य गर्ने तथा सदस्यतासहित सामाजिक सुरक्षा, वृत्तिविकास गर्दै लैजाने उद्देश्यले मैले कलाकार सङ्घको अध्यक्ष पदमा उम्मेदवारी दिएको हो ।”

निरौलाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल उम्मेदवार रहेका छन् भने महासचिवमा सविन श्रेष्ठ रहेका छन् । सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल, सदस्यहरुमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामाले उम्मेद्वारी दिएका छन् ।

निरौलाकै प्यानलबाट सहकोषाध्यक्षमा चुनाव लड्न लागेकी पवित्रा आचार्य भने निर्विरोध निर्वाचित भएकी छन् । उनका प्रतिष्पर्धि रोहित रुम्बाले उम्मेदवारी फिर्ता लिएपछि उनि बुधबार नै निर्वाचित भएकी थिइन् ।