‘परालको आगो’ निर्देशक प्रताप सुब्बाको निधन

नेपाली मूलका भारतीय फिल्म निर्देशक प्रताप सुब्बाको ७८ वर्षको उमेरमा निधन भएको छ । ‘परालको आगो’, ‘बाँच्न चाहनेहरु’, ‘मसाल’, ‘कहीँ अँध्यारो कहीँ उज्यालो’, ‘दिदी’, ‘चट्याङ’ र ‘भीष्म प्रतिज्ञा’ जस्ता फिल्मका निर्देशक सुब्बाको सिलिगुडीस्थित एक अस्पतालमा निधन भएको हो ।

अघिल्लो संस्करणको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा उनले ४० को दशकमा नेपाल आएर नेपाली फिल्म र टेलिफिल्म निर्देशन गरी ५० को दशकमा पुनः दार्जिलिङ फर्किएको बताएका थिए ।

पहिलोपटक फिल्म बनाउन नेपाल आइपुगेका उनले राजेन्द्रकृष्ण मानन्धरसँग मिलेर भिडियो फिल्म ‘बन्द खामभित्र’ निर्माण गरेका थिए । त्यो समयमा उनले सरोज खनाल र मिथिला शर्मालाई लिएर फिल्म ‘दिदी’ बनाए पनि त्यो असफल भएको थियो । उनले २०५० सालमा फिल्म ‘चट्याङ’को पटकथा लेखेका थिए ।