आजदेखि सुरु हुँदै निफ, ३५ देशका ९५ फिल्म सहभागी

नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ)को छैटौँ संस्करण आज काठमाडौँमा सुरु हुँदैछ । यसपटकको महोत्सवमा ३५ देशबाट ९५ फिल्म सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

‘विश्वभरका कथाको उत्सव’ नारासहित महोत्सव आजदेखि ६ गतेसम्म चल्ने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिए ।

“महोत्सवका फिल्मलाई क्युएफएक्स चेनअन्तर्गतका चार हलमा देखाउँदैछौँ । यस्तै अन्तरक्रिया र छलफलसम्बन्धी कार्यक्रम पर्यटन बोर्डको प्रेक्षालयमा हुनेछ”, अध्यक्ष पाठकले भने, “रचनात्मक कार्यक्रमलाई विशेष महत्व दिँदै फिल्म क्षेत्र र सम्बन्धित विधाका विज्ञले अन्तरक्रिया गर्दैछन् ।”

महोत्सवमा सात विधामा १४ पुरस्कार वितरण हुने जनाइएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्म प्रतिस्पर्धामा छन् ।

चिनियाँ फिल्म एकेडेमीकी प्राध्यापक ली रानले ‘चिनियाँ फिल्मको भाष्य, बुझाइ र विश्वकै ठूलो फिल्म बजार’ विषयमा र भारतीय निर्देशक प्रेमेन्द्र मजुमदारले घरेलु फिल्म विषयमा मास्टरक्लास दिनेसमेत अध्यक्ष पाठकले जानकारी दिए ।

यस्तै निफमा प्राध्यापक इटामी बोर्जनको मास्टरक्लास, भूराजनीतिमा फिल्मको भूमिका, नेपाली दर्शकको विकासक्रम, फिल्म नीति : नीति मात्रै कि व्यवहार पनि, फिल्म कास्टिङ : महत्व र अभ्यास, हास्य-व्यङ्ग्यले हौसिएको नेपाली फिल्म र आमा नायिका : जिम्मेवारी र करिअरजस्ता विषयमा अन्तरक्रिया तथा छलफल हुनेछ । 

निफको ‘ओपनिङ फिल्म’ को रुपमा कोरिन शर्मा निर्देशित फिल्म ‘चरी’ ( अप्रतियोगी) प्रदर्शन हुनेछ । महोत्सवमा सहभागी सम्पूर्ण चलचित्रको प्रदर्शन क्यूएफएक्सद्धारा सञ्चालित ५ वटा अत्याधुनिक सिनेमा हलहरु काठमाडौँको सिभिल मल र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा हुनेछन् । टिकट बुकिङ खुला भएको र ‘खल्ती एप’ मार्फत टिकट बुकिङ गर्न सकिनेछ । यस पटकपनि ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ ।