‘ज्याकीः आई एम २१’की नायिका जसिताको फस्टलुक सार्वजनिक

 

आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’की मुख्य नायिका जसिता गुरुङको फस्टलुक सार्वजनिक भएको छ । यसअघि सार्वजनिक ३ वटा प्रचार सामाग्रीमा नायक धिरज मगरको मात्र गेटअप सार्वजनिक गरिएको थियो । 

तर, अब रेनशा राई रानाको निर्देशनमा तयार भएको फिल्मकी मुख्य नायिका जसिता गुरुङको फरक अवतारसहितको फस्टलुक रिलिज भएको छ । जहाँ, जसिता गुरुङलाई पनि डान्सरको अवतारमा देख्न सकिन्छ । 

फिल्ममा जसितालाई ‘रुबी’ पात्रको भूमिकामा देख्न सकिनेछ । प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको निर्माणमा तयार भएको यो फिल्मलाई निर्माणपक्षले डान्स ड्रामा भनेको छ । 

फिल्मका मुख्य कलाकार धिरज मगरलाई मात्र केन्द्रमा राखेर तयार पारिएको टिजरमा समावेश संवाद टिकटकमा भाइरल भैसकेको छ । अब, जसिताको पनि गेटअप सार्वजनिक भएपछि दर्शकमा उत्सुकता पैदा हुने निश्चित छ । 

आउँदो वर्षको बैशाख २१ गतेबाट रिलिज हुन लागेको फिल्ममा अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । 

यसअघि ‘इन्टु मिन्टु लण्डनमा’ जस्तो सफल लभ स्टोरी फिल्म बनाएकी रेनशाले यसपटक धिरज र जसितालाई लिएर डान्सको बिषयमा कथा भनेकी छिन् । यो फिल्ममा रेनशा राई रानाको कथा तथा पटकथा, रोहित शाक्य, स्वप्न सुनिल र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।