कलाकार संघमा रेजिना र मोहनको भिडन्त, अरू क-कसको उम्मेदवारी कुन पदमा ?

आगामी चैत ४ गते हुन लागेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदका लागि कलाकार रेजिना उप्रेती (पोखरेल) र मोहन निरौलाको उम्मेदवारी परेको छ । विगत केही महिना अगाडिदेखि अध्यक्षसहित विभिन्न पदमा धेरै कलाकारहरूले उम्मेदवारी घोषणा गर्दै आए पनि उम्मेदवारी दर्ता गर्दा निरौला र उप्रेतीले मात्र गरेका छन् ।

यसअघि अध्यक्षमा आकांक्षा देखाएका वर्तमान अध्यक्ष रविन्द्र खड्का, सविन श्रेष्ठ र सुशान्तकुमार श्रेष्ठ पछाडि हट्दा मोहन र रेजिनाबीच प्रतिस्पर्धा हुन लागेको हो । अध्यक्षको आकांक्षा छाड्दै सविन महासचिवमा भिड्न लागेका हुन् ।

उपाध्यक्ष पदका लागि भने, सात जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा धनबहादुर बम्जन (डीबी), कविता गेलाल, शिवहरि नेपाल, सरिता गिरी, पवनप्रसाद खतिवडा, तेजकुमारी खतिवडा र विष्णुप्रसाद रिजालले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

महासचिव पदका लागि ५ जनाको उम्मेदवारी परेको छ। सञ्जय खतिवडा, धर्मानन्द आचार्य, सविन श्रेष्ठ, पनाह अधिकारी र उत्तम केसीले महासचिव पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। सचिवमा रामेश्वर बुर्लाकोटी र जीवन थापाले उम्मेदवारी दिएका छन्।

कोषाध्यक्षमा विनोदकुमार भट्टराई र सुनिल कटुवालले उम्मेदवारी दिएका छन् भने सह-कोषाध्यक्षमा रोहित रुम्बा र पवित्रा आचार्यले उम्मेदवारी पेस गरेका छन् । त्यस्तै, १२ जना सदस्यका लागि २६ जनाले उम्मेदवारी दिएका छन् ।