‘छक्का पन्जा ४’को कमाई ७ करोड माथि, के तोडिएला ‘कबड्डी ४’को रेकर्ड ?
फिल्म ‘जय माग्ने राजा’को नाम अन्तिममा बदलेर दीपकराज गिरी र उनको टिमले ‘छक्का पन्जा ४’ राख्नुको मुख्य कारण थियो, ‘कबड्डी ४’ले बक्स अफिसमा दिएको दबाब ।
‘कबड्डी ४’ले बक्स अफिसमा ‘छक्का पन्जा ३’ले कमाएको १८ करोडको रेकर्डलाई तोडेपछि दीपकराज गिरी र उनको टिम दबाबमा आएको थियो । यसैले, फिल्मको नाम ‘जय माग्ने राजा’बाट ‘छक्का पन्जा ४’ हुन पुगेको थियो ।
गत शुक्रबारदेखि रिलिजमा आएको यो फिल्मले पहिलो साता बक्स अफिसमा बम्पर कमाई गर्यो । तर, फिल्म ‘छड्के २’सँग जुध्नु परेको कारण फिल्मले ‘कबड्डी ४’ले एक सातामा राखेको १४ करोडको रेकर्डलाई भने छुन सकेन ।
‘छक्का पन्जा ४’ले एक सातामा कमाएको आँकडा कति हो भनेर सार्वजनिक भएको छैन । तर, फिल्मको कमाई ७ करोड भन्दा केही माथि रहेको विश्लेषण गर्न सकिन्छ ।
बुधबार नारी दिवसको दिनमा फिल्मले सबैभन्दा बढी कमाई गरेको छ । तर, बिहिबारबाट फिल्मको व्यापार केही खस्किएको छ । आज शुक्रबार र भोली शनिबार फिल्मले राम्रो व्यापार गर्ने पक्का छ । यसपछि, फिल्मको व्यापारले लिने गतीमा ‘कबड्डी ४’ले बनाएको २२ करोडको रेकर्डलाई छुने या नछुने निर्कौल हुनेछ ।
विश्लेषकहरुका अनुसार, यदि ‘छक्का पन्जा ४’ले पहिलो सातामा कमाएको जस्तै दोश्रो र तेश्रो सातामा पनि व्यापार गर्न सक्यो भने यसले ‘कबड्डी ४’को रेकर्ड तोड्न सक्छ । तर, त्यो अनुसारको व्यापार नदेखिएको जानकारहरु बताउँछन् ।
प्रतिक्रिया