प्रमाण ल्याउनुस्, तपाईँको पाउमा मेरो शिर राखिदिन्छु : गायक राई

गायक राजेश पायल राईले आफूलाई बिना प्रमाण मानहानि गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

राईले आफूलाई बिना प्रमाण मानहानि गर्न खोजिएको भन्दै आपत्ति समेत जनाएका हुन् । साथै, उनले आरोपको प्रमाण ल्याउन चुनौती दिँदै आधारहीन समाचार नछाप्न आग्रह गरेका छन् । एउटा स्ट्याटसकै भरमा बिना प्रमाण मानहानि गरिएको भन्दै दुःख पोखेका छन् ।

राइकी पत्नी साङबुङ राईले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्ट्याटस लेखेकी थिइन् । त्यसमा उनले आफ्नो बच्चालाई बाबुले शरीरमा तातोपानी खन्याइदिएको उल्लेख गरेकी थिइन् । साथै साङबुङले गायक राईलाई पापी बाबुको संज्ञा पनि दिएकी थिइन् । उक्त स्ट्याटसलाई लिएर स्क्रिन सट सेयर गर्दै राईमाथि विभिन्न प्रश्न उठेका थिए । पछि साङबुङले सो स्ट्याटस हटाइन् ।

गायक राईले उक्त आरोपको प्रमाण ल्याउन चुनौती दिँदै लेखेका छन्, ‘बिना प्रमाण यत्रो मानहानि गर्न मिल्छ ? अनेक-अनेक तुच्छ भाषा प्रयोग गर्न मिल्छ ? आउनुस् म चुनौती दिन्छु, यदि प्रमाण ल्याउनुभयो भने तपाईँको पाउमा मेरो शिर राखिदिन्छु ।’

‘हिजो घटेको घटना रहेछ, बच्चालाई हस्पिटल लगेको होला, नलगे पनि हिजो खन्याको तातोपानी त पक्कै पानी फोका उठ्यो होला, रातो दाग होला ! घाउ होला ,प्रमाण ल्याउनुस्, मेरो शिर तपाईँको हातमा राखिनँ भने म किराँती होइन । यदि मेरो नाम प्रयोग गरेर आफ्नो पत्रकारिता, यानेकि तपाईँको चुल्हो बल्छ भने त म खुसी नै हुन्छु र अझ प्रार्थनै गर्छु, मलाई झन् सराप्नुस् तर त्यति गर्दा चैँ तपाईँ को चुल्हो बल्नु पर्छ नि ?

राईले आफ्नो भलो नचिताउने र करिअर समाप्त गराउने गिरोह सक्रिय हुन लागेको उनको दाबी छ ।

‘आउँदा दिनहरूमा म माथि यस्तै कुनै षडयन्त्र भयो भने आश्चर्य मान्नुपर्ने छैन । आशा छ, त्यो क्षणमा मलाई मेरा शुभचिन्तक, साथीभाइ र सञ्चारकर्मीले सत्यको बाटोमा सहयोग गरिदिनु हुनेछ,।’