अभिनेत्री सुरक्षाले गरिन् प्रेमी मानवसँग विवाह
अभिनेत्री सुरक्षा पन्तले अभिनेता प्रेमी मानव सुवेदीसँग विवाह गरेकी छन् ।
पन्त र सुवेदीले बिहीबार विवाह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत तस्विर सार्वजनिक गर्दै पन्तले विवाह गरेको जानकारी दिएकी छिन् । चितवनको सौराहामा भएको उक्त विवाह समारोहमा परिवार र निकट आफन्तलाई मात्र बोलाएका छन्।
विवाहको तस्विर फेसबुकमा राख्दै पन्तले ‘शुभ विवाह’ लेखेकी छन् । यी दुईले करिब ६ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्दै उनीहरू दुवैले विवाहको एक दिनअघि अर्थात् हिजो बुधबार टीका र फूल माला लगाउँदै टीकाटालो (इन्गेजमेन्ट) रिङ लगाएका थिए ।
सुरक्षा र मानवले केही म्युजिक भिडियोमा सहकार्य समेत गरेका छन् । इन्जिनियरिङ पढेर फिल्म ‘सुस्केरा’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सुरक्षाले ‘भैरे’, ‘गोपी’, ‘चंगा चेट’, ‘आमा’, ‘धनपति’, ‘के घर के डेरा’ लगायतका फिल्महरुमा अभिनय गरिसकेकी छन् ।
त्यस्तै, फिल्म ‘अन्तराल’बाट अभिनेताको रुपमा डेब्यू गरेका मानवले ‘नेपथ्य’, ‘चिनी कम रंग कडा’ फिल्ममा पनि काम गरेका छन् । अस्कार फिल्म कलेजबाट ब्याचलर सकाएर फिल्ममा होमिएका उनले ‘पैसा फल्ने बोट’, ‘आँखामा तिम्रो’ आदि गीतमा आवाज समेत भरेका छन् । साथै, मानवले लोकप्रिय गीत ‘कालो केशमा रेलिमै’सहित केही म्यूजिक भिडियोको निर्देशन पनि गरेका छन् ।
यस्तै, सुरक्षा अभिनित फिल्म 'जिज्ञासा, विचार अनि यथार्थको कथा' ‘बहाव’ चैत्रको २४ गते रिलिज हुँदैछ । मानव भने नयाँ फिल्मको तयारी गरिरहेका छन् ।
प्रतिक्रिया