के पूजा र आँचलको सम्बन्ध मिडियामा चर्चा भए जस्तो छैन ?


सार्वजनिक रुपमा नायिकाद्धय पूजा शर्मा र आँचल शर्माले एक अर्कासँग कटाक्ष गर्न छाड्दैनन् । केही महिना अगाडि आँचलले पूजालाई ‘अग्रज’ भन्दा पूजाले ‘भाउजु’ भन्दै जवाफ फर्काइन् । 
प्हिलो लकडाउनको समयमा आँचल र पूजाले एक अर्कालाई सामाजिक संजाल इन्स्टाग्राममा फलो गरेका थिए । तर, नायक पल शाह थुनामा परेपछि पनि आँचलले पूजालाई इन्स्टाबाट अनफलो गरिन् । यसपछि, यी दुई नायिकाबिच पुनः शितयुद्ध सुरुवात भएको थियो । 

तर, मंगलबार नायिका आँचल शर्माले पूजा शर्मासँग फिल्म खेल्ने खबर सार्वजनिक भएसँगै यसले सबैलाई अचम्मित बनायो । ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको फिल्ममा पूजा र आँचलले एकसाथ काम गर्ने पक्का भएको हो । 

पूजासँग फिल्म खेल्न आँचल तयार भएपछि, उनीहरुको सम्बन्धलाई लिएर टिकाटिप्पणी पनि भैरहेको छ । 

श्रोतका अनुसार, फिल्म साइन गर्नु अगाडि निर्देशक देउजाले आँचललाई पूजासँग फिल्म खेल्न आपत्ती छ कि छैन भनेर सोधेका थिए । जसको जवाफमा आँचलले पूजासँग फिल्म खेल्न कुनै पनि गाह्रो नभएको जवाफ दिएकी थिइन् । उनले, पूजासँग आफ्नो सम्बन्ध मिडियामा सार्वजनिक भए जस्तो नराम्रो नभएको जवाफ दिएकी थिइन् । 

पूजाले पनि फिल्ममा आँचलसँग पर्दा शेयर गर्नुलाई सामान्य रुपमा लिएकी छिन् । यसको अर्थ, यी दुईलाई एकसाथ फिल्ममा लिएर ज्ञानेन्द्र फिल्मको हाइप उच्च बनाउन चाहन्छन् । तर, यी दुईको सम्बन्ध जस्तो भएपनि अब भने उनीहरुबिचको शितयुद्ध सकिने पक्का जस्तै छ ।