बेनिशा हमालः ‘छक्का पन्जा ४’ कि शक्तिशाली युट्युबर


शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘छक्का पन्जा ४’ले बक्स अफिसमा बम्पर व्यापार गरिरहेको छ । चलचित्रको व्यापार रिलिज पाँचौ दिन आज पनि कम भएको छैन । 

फिल्मले बक्स अफिसमा ५ करोड भन्दा बढीको ग्रस कलेक्शन गरिसकेको छ । फिल्मले बक्स अफिसमा कति कमाई गर्छ, ठ्याक्कै यकिन गर्न गाह्रो छ । तर, फिल्मको व्यापार १० करोड भन्दा माथि हुनेमा कुनै शंका छैन । 

यो फिल्म रिलिज भएपछि यसका मुख्य कलाकार केदार घिमिरेको कामको चर्चा पनि भैरहेको छ । तर, फिल्मको मुख्य नायिकाको रुपमा रहेकी बेनिशा हमाल एक शक्तिशाली पात्रको रुपमा  उदाएकी छिन् । 

यो फिल्ममा बेनिशा युट्युबरको रुपमा देखिएकी छिन् । उनका कारण ठूला ठूला बिषयको भण्डाफोर भएको फिल्ममा देखाइएको छ । 

बेनिशाले गुन्डाबाट राजनीतिज्ञ बनेका  फिल्मका मुख्य कलाकार दीपकराज गिरी अर्थात राजाको जिन्दगीलाई नै परिवर्तन गरिदिन्छिन् । फिल्मको दोश्रो हाफ पूर्ण रुपमा बेनिशा र दीपकमाथि केन्द्रित छ । बेनिशाकै कारण फिल्ममा देखिने परिवर्तन गज्जबको छ । 

यसैले, ‘छक्का पन्जा ४’मा बेनिशाले सशक्त अभिनय मात्र गरेकी छैनन्, बलियो भूमिका समेत पाएकी छिन् । 

बेनिशाको अभिनयको प्रशंसा भएपनि फिल्म नचल्दा उनको करिअर सुखद तरिकाले अगाडि बढ्न सकिरहेको छैन । ‘छक्का पन्जा ४’ उनको करिअरका लागि माइलस्टोन बन्न सक्छ ।