होलीमा पलको आग्रह–‘मेरो घटनासँग जोडिएका कसैलाई गाली नगरिदिनुहोला’


जेलबाट निस्किएपछि परिवार र आफन्तसँग होली खेल्दै नायक पल शाहले बितेको एक बर्षलाई आफूले सिकाईको रुपमा लिएको उल्लेख गरेका छन् । 

सामाजिक संजालमा स्टाटस लेख्दै पलले भनेका छन्–‘सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया हो । बितेको एक बर्षलाई मैले सिकाईको उर्बर समयको रुपमा लिएको छु । मनमा न कसैप्रति रिस बाँकी छ, न त कुनै प्रतिशोधको भावना । छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य । साथै मेरो बितेको एक बर्षको त्यो घटनासँग जोडीएका सम्पूर्ण व्यक्तिहरुमा मेरो सदा सम्मान र सद्भाव ।’

पलले, यो घटनामा कसैको दोष नभएर समयको दोष रहेको समेत उल्लेख गरेका छन् । उनले अगाडि लेखेका छन्–‘यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो । त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो व्यवहार नगरिदिनुहोला । उहाँहरुसँग फेरि सहकार्य गर्ने  वातावरण मिलोस् । त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरि पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु । मेरो स्वागतमा परिवार, आफन्त, साथीभाई मात्र होइन हजारौं दर्शकको भिड देख्दा म मात्तिएको छैन । बरु, यो शुभेच्छाले मलाई थप जिम्मेवार बनाएको छ ।’

पलले, सबै शुभेच्छुकहरुप्रति आभार समेत प्रकट गरेका छन् । एक बर्ष लामो जेल जीवन बिताएर नायक पल शाह फागुणको १५ गते बाहिर निस्किएका थिए । पलले, अब आफूलाई काममा नै व्यस्त राख्ने चाहना व्यक्त गरेका छन् ।