आठ दलको बैठकमा एलिजा गौतमको इन्ट्री

केही हप्ता अगाडि नागरिक उन्मुक्ती पार्टीमा प्रवेश गरेकी नायिका तथा मोडल एलिजा गौतम आज प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा आयोजित आठ दलको बैठकमा सहभागी भएकी छिन् । 

एलिजालाई नागरिक उन्मुक्ती पार्टीले अहिलेसम्म कुनै पनि पोष्ट दिइसकेको छैन । तर, उनी नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टी लगायतका आठ दलीय गठबन्धनको बैठकमा सहभागी भएकी हुन् । 

एलिजाले नागरिक उन्मुक्ती पार्टीमा प्रवेश गरेसँगै उनलाई उपाध्यक्ष पद दिने चर्चा थियो । तर, अहिलेसम्म कुनै पनि पद नपाएकी एलिजा आठ दलको बैठकमा सहभागी हुनुलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ ।

राष्ट्रपति र उपराष्ट्रपति चुनावबारे आवश्यक रणनीति बनाउन बसेको आठ दलको बैठकमा नायिका एलिजा गौतम पनि सहभागी भएकी हुन् । राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने आठ राजनीतिक दलका नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनका लागि बनेको आठ दलीय गठबन्धनको बैठक बोलाएका थिए । आठ दलीय गठबन्धन बनेपछि सरकारमा रहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएर बाहिरिएको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे बैठकमा छलफल भइरहेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरू सहभागी छन् ।