पल शाहको त्यो फागुण १५, यो फागुण १४

गतबर्षको फागुणको १५ गते बिहान ११ बजे नायक पल शाहले जिल्ला अदालत, तनहुँमा आत्मसर्मपण गरेका थिए ।

फागुणको ११ गते एक नाबालिका गायिकाले पलले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला अदालत, तनहुँमा उजुरी दिएकी थिइन् । गतबर्ष यही दिनमा पल शाह आफ्नो फिल्म ‘म यस्तो गीत गाउँछु २’को प्रिमियरका लागि मेकअप रुममा थिए । तर, तनहुँमा उजुरी परेको खबर सार्वजनिक भएसँगै पल प्रिमियरमा सहभागी हुन पाएनन् ।

प्रिमियरमा सहभागी नभएका पल ४ दिनसम्म प्रहरी प्रशासनको आँखा छलेर बसिरहेका थिए । तर, फागुणको १५ गते पल शाहको एक भिडियो सार्वजनिक भयो । जहाँ, उनले प्रशासनलाई सहयोग गर्ने भन्दै आफूले आत्मसर्मपण गर्न लागेको जानकारी दिए । 

जिल्ला प्रहरी कार्यलय तनहुँमा आत्मसर्मपण गरेपछि पल शाहको बिषयमा सामाजिक संजाल र मिडिया गर्माएका थिए । 

कतिपयले त पल शाहलाई सोही समयमा नै बलात्कारी घोषणा गरिसकेका थिए । कतिपय मिडियाले त पल शाहलाई दोषी करार गर्दै उनलाई १२ बर्षको जेल सजायँ हुनुपर्ने सम्मका तर्क गर्न भ्याएका थिए । 

पल शाह विरुद्ध नाबालिका गायिकाले जिल्ला प्रहरी कार्यलय, नवलपरासीमा पनि उजुरी दिइन् । यसपछि भने पल शाहले अदालतको चक्कर काट्नु परेको थियो । 
पललाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । 

तर, पलले आत्मसर्मपण गरेको ठ्याक्कै एक बर्षपछि उनले सबै मुद्दाबाट सफाई पाएका छन् । उनी भोली रिहा हुँदैछन् । पल शाहले एक बर्ष लामो जेल सजायँ बिताउँदै गर्दा उनले कैयौं आरोपहरु भोगे । सुरुवाती समयमा पल शाहविरुद्ध सामाजिक संजाल र मिडियामा आरोप र समर्थनका शब्दहरु खुबै सुनिए । कतिपय मिडियाले त पल शाह अभियुक्त मात्र हुन्, बलात्कारी होइनन् भन्ने हेक्का समेत नराखी समाचार सार्वजनिक गरे । 

तर, आज पल शाह रिहाई भएका छन् । संयोग नै मान्नुपर्छ, एक बर्ष अगाडि पलले फागुण १५ गते आत्मसर्मपण गरेका थिए । उनै, भोली फागुण १५ गते नै रिहाई हुँदैछन् ।