केकीपछि शोभितको ‘जय हो’मा निशाको प्रवेश


नायिका निशा अधिकारीले शोभित बस्नेको प्रस्तुतिमा तयार हुन लागेको फिल्म ‘जय हो’ साइन गरेकी छिन् । उनी र निर्माता बस्नेतपछि शुक्रबार कागजी संझौता भएको छ । निशाले अभिनय गरेको फिल्म ‘म’ साउनमा रिलिज भएको थियो । यसपछि, उनले फिल्म ‘आँखा’को छायांकन समेत सकाएकी छिन् । 

टेक पौरखी राइको निर्देशनमा बन्न लागेको यो फिल्ममा केकी अधिकारी, सलोन बस्नेत, अर्पण थापा, माओत्से गुरुङ लगायतका कलाकार फाइनल भइसकेका छन् । यो फिल्मको छायांकन फागुनको २५ गतेबाट सुरु हुँदैछ । फिल्मको छायांकन ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत पोखरामा हुनेछ । 

सुरेश न्यौपानेको कथा रहेको फिल्ममा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटाको संगीत छ । फिल्मलाई कमेडी, एक्सन र लभ स्टोरी कथामा निर्माण गर्ने र आगामी तीजमा रिलिज गर्ने योजना निर्माण पक्षको छ । 

सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् ।