तेश्रो पटक प्राविधिक संघको अध्यक्ष बने पुष्कर लामा


चलचित्र प्राविधिक संघको अध्यक्षमा प्रेम भोम्जन(पुष्कर लामा) निर्विरोध निर्वाचित भएका छन् । बिहिबार काठमाडौंमा सम्पन्न भएको संघको बीसौं बार्षिक साधारण सभाबाट लामा निर्विरोध निर्वाचित भएका हुन् । योसँगै उनले चलचित्र प्राविधिक संघको नेतृत्व तेश्रो पटक अगाडि बढाउने भएका छन् । 

यस्तै, संघको महासचिवमा युवराज कार्की र कृष्णबहादुर थापा कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । 

चलचित्र प्राविधिक संघको नेतृत्व गर्दै गर्दा पुष्कर लामा निकै रुचाइएका छन् । उनले, प्राविधिकहरुको हक हितका लागि निरन्तर काम गरेका कारण उनी लोकप्रिय मानिन्छन् । कोभिडको समयमा प्राविधिकहरुको लागि उनले गरेको योगदानलाई धेरैले प्रशंसा गरेका थिए । 

अध्यक्ष लामाले सामाजिक सुरक्षा कोषमा आबद्ध गरेर प्राविधिकहरुको भविष्यलाई केही हदसम्म सुनिश्चित र बलियो बनाउने आफ्नो उद्देश्य रहेको बताए । 

लामाले नेफ्टाको आफ्नै भवन निर्माण गर्ने योजना समेत अगाडि सारेका छन् । अब, लामाकै नेतृत्वमा नेफ्टाले ११ औं फिल्म अवार्ड अमेरिकामा आयोजना गर्नेछ । यसमार्फत नेपाली फिल्मको विकास र विस्तार विश्वकै शक्तिशाली देशमा हुने उनको आशा छ ।