प्रिमियरमा फिल्मीकर्मीले देखाउन नसकेको एकता

बिहिबार बेलुकी निक्कै तामझामका साथ फिल्म ‘फूलबारी’को प्रिमियर गरियो । फिल्मको प्रिमियरमा फिल्मी क्षेत्रका नाम चलेका फिल्मीकर्मीलाई निम्तो गरिएको थियो । दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, शिल्पा मास्के,  अरुणा कार्की लगायतका कलाकारले अभिनय गरेको यो फिल्मप्रति दर्शकको मात्र होइन, आम फिल्मीकर्मीको पनि चासो थियो । फेरि अर्कोतिर, फिल्म क्षेत्रमा व्यापारिक खडेरी लागिरहेको समयमा यो फिल्मले दर्शकलाई हलसम्म तान्नु पर्ने अवस्था पनि सिर्जित भएको थियो । 

तर, रामबाबु गुरुङ निर्देशित फिल्मको प्रिमियरमा यो फिल्मका कलाकार बाहेक अरू कोही पनि आएनन् । निम्तो गरिएकाहरुले प्रिमियरमा पुगेर फिल्म हेर्न आवश्यक नै ठानेनन् । धेरैले, फिल्मका लागि शुभकामना सामाजिक सञ्जालबाटै दिएपनि हलसम्म पुग्ने सोच नै बनाएनन् । रामबाबु र उनको टिमलाई पक्कै नरमाइलो लागेको हुनुपर्छ । भलै, शुक्रबारदेखि फिल्मले दर्शक हलमा तानेपछि उनीहरूको अनुहारमा मुस्कान कायम छ । 

फिल्म ‘ह्यारी कि प्यारी’को प्रिमियरमा भने फिल्मीकर्मीको खडेरी यसरी नै लागेको थियो । यो फिल्म हेर्न पनि खासै अनुहार देखिएनन् । बरु, निर्माताले फिल्म हलमा लागेपछि टिकट काटी काटी केही फिल्मीकर्मीलाई फिल्म देखाएका थिए । 

साम्राज्ञी राज्यलक्ष्मी शाह, जितु नेपाल जस्ता कलाकारको निम्तोमा पनि उनीहरूकै सहकर्मीहरु हलसम्म पुगेनन् । आफ्नो फिल्म चल्दा हरेक कलाकारले अरू कलाकारको साथ खोज्छन् । तर, सोही कलाकारले अरूको फिल्म चल्दा आफूले साथ दिनुपर्छ भन्ने बिर्सन्छन् । जसकाकारण, नेपाली फिल्मकर्मीमा एकता नै देखिन छाडेको छ । 

अरूको फिल्म हेर्न किन जाने, अरूलाई साथ किन दिने भन्ने सोच पलाउँदा फिल्म क्षेत्रमा एकता भन्दा गुटबन्दी बढी देखिन थालेको छ । यो फिल्म क्षेत्रका लागि सुखद कुरा भने होइन ।