फेरि हतारिए अर्जुन कुमार, छायांकन सुरु नहुँदै ‘फाटेको जुत्ता खै’को प्रदर्शन मिति तय

गतबर्ष फिल्म ‘चपली हाइट ३’को प्रदर्शन मिति तोक्दै बारम्बार पछि सरेका निर्माता अर्जुन कुमार यसपटक फेरि हतारिएका छन् । 

दुबइमा घोषणा गरिएको फिल्म ‘फाटेको जुत्ता खै’को टिमअप नै पूर्ण नभएको अवस्थामा उनले प्रदर्शन मिति नै तय गरेका छन् । 

उनले, आफूले निर्माण गर्ने यो फिल्मको प्रदर्शन मिति तिहारको अवसर पारेर कािर्तक २४ गतेलाई तोकेका छन् । यो फिल्ममा नायक सौगात मल्ल र नायिका ऋचा शर्माको मुख्य भूमिका रहने बताइएको छ । 

निकेश खड्काको निर्देशनमा तयार हुने यो फिल्ममा अर्जुन कुमारको साथमा ठाकुरप्रसाद ढुंगाना र धर्मराज अधिकारीको लगानी रहनेछ । 

अर्जुन कुमार फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्ममा आकाश बरालको पटकथा र प्रवेश मलिकको संगीत रहने पक्का भएको छ । यो फिल्मको छायांकन बैशाखदेखि सुरु हुने अर्जुनको योजना छ । अर्जुन कुमारले फिल्म ‘चपली हाइट ३’ रिलिजको समयमा आफू निक्कै पीडित बनेको महशुश गरेका थिए । यसैले, यसपटक ‘फाटेको जुत्ता’को सिरिजको रुपमा बन्न लागेको ‘फाटेको जुत्ता खै’बाट पैसा कमाउने उनको सोच छ ।