‘ज्याकीः आई एम ट्वान्टी वान’को स्टाइलिस्ट फस्टलुक भिडियोमा धिरज


आई कोर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘आई एम ट्वान्टी वान’को प्रदर्शन मिति घोषणासँगै यसको फस्टलुक भिडियो सार्वजनिक गरिएको छ । 

यो फिल्मलाई वि.सं २०८० सालको बैशाख २१ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । 

प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको निर्माणमा तयार भएको यो फिल्मलाई रेनशा वान्तवा राइले निर्देशन गरेकी हुन् । रेनशाले निर्देशन गरेको पहिलो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो । 

फिल्मको फस्टलुक भिडियोमा नायक धिरज मगरको अनुहार मात्र देखाइएको छ । फिल्ममा जसिता गुरुङ, अरुण क्षेत्रीको पनि मुख्य भूमिका छ । तर, फस्टलुकमा निर्माणपक्षले जसितालाई स्थान दिएको छैन । 

फिल्ममा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ । 

सार्वजनिक फस्टलुक भिडियोले यो फिल्म डान्सको कथामा आधारित रहेको प्रष्ट हुन्छ । धिरज मगरलाई एक डान्सरको भूमिकामा देखाइएको छ । तर, निर्माणपक्षले फस्टलुकमा अरु केही पनि फिल्मको बारेमा खुलाएको छैन । फिल्मको फस्टलुक भिडियोले यसको मेकिङ उच्च रहेको झलक दिएको छ । 

फिल्मको फस्टलुकको ब्याग्राउन्ड स्कोर बलियो छ । जसले, फिल्मप्रति अझै कौतुहलता बढाउने निश्चित छ । निर्माणपक्षले यो फिल्मलाई ‘डान्स ड्रामा’को रुपमा चित्रित गरेको छ ।