‘प्रकाश’ निर्देशकको नयाँ फिल्ममा स्वप्नको जोडी दिक्षिता

फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउतले नयाँ फिल्म निर्देशन गर्न लागेका छन् । नाम तय नगरिएको फिल्मका लागि गायक स्वप्न सुमनलाई फाइनल गरिसकिएको छ । स्वप्नले यो फिल्मका लागि अभिनय कक्षा पनि लिइरहेका छन् । 

फिल्मकमो पटकथा विकास सुवेदीले लेखिरहेका छन् । यसैबिच, यो फिल्ममा नायिकाको रुपमा दिक्षिता कार्कीको प्रवेश भएको छ । संगीतकार चेतन कार्कीकी छोरी समेत रहेकी दिक्षिता आफै पनि युट्युबमा चर्चामा छिन् । 

उनले जीवन, तिमी र म जस्ता चर्चित गीत गाएकी छिन् । उनको युवा पुस्तामा राम्रो क्रेज समेत छ । दिनेशले दिक्षितासँग केही दिन अगाडि मात्र कागजी संझौता गरेका हुन् । दुबै कलाकारलाई फिल्मको कथा अनुसार फिट लागेपछि साइन गरिएको निर्माणपक्षले बताएको छ । मल्टी मेटको ब्यानरमा यो फिल्मको निर्माण हुन लागेको हो । 

दिनेशले यो फिल्मलाई शहरको सभ्यता र मानिसले प्रस्तुत गर्ने विभिन्न ढोंगी चरित्रलाई प्रस्तुत गर्ने निर्माणपक्षले बताएको छ । फिल्मलाई आगामी बर्ष रिलिज गर्ने योजनामा निर्माणपक्ष छ ।