'फाटेको जुत्ता खै ?' बन्ने, सौगात र ऋचा शीर्ष भूमिकामा

निकेश खड्काको निर्देशनमा नयाँ फिल्म 'फाटेको जुत्ता खै ?' बन्ने भएको छ ।

दुबई पुगेका निर्माता अर्जुन कुमार र अभिनेत्री रिचा शर्माले त्यहीँ नयाँ फिल्मको घोषणा गरेका हुन् । फिल्ममा सौगात मल्ल र ऋचा शर्माको शीर्ष भूमिका रहनेछ ।

चलचित्र विकास बोर्डले यूएईको दुबईमा आयोजना गरेको 'नेपाल सिनेमा फेस्ट २०२३'का लागि निर्माता अर्जुन र अभिनेत्री रिचा त्यहाँ पुगेका थिए ।

फिल्म निर्माणमा अर्जुन कुमार र गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष ठाकुरप्रसाद ढुंगाना र अर्का व्यवसायी धर्मराज अधिकारीले सहकार्य गर्ने भएका छन् । अर्जुन कुमार फिल्म्सको ब्यानरमा यसअघि 'फाटेको जुत्ता' निर्माण भएको थियो ।

यसअघि 'फाटेको जुत्ता'मा पनि सौगात नै प्रमुख भुमिकामा थिए । वैशाखदेखि छायांकनमा जाने फिल्ममा आकाश बरालको कथा, प्रवेश मलिकको संगीत रहनेछ ।

फिल्म वैशाखदेखि नवलपरासीको त्रिवेणीमा छायांकन सुरु हुने जनाइएको छ । यसअघि निर्देशक खड्का र निर्माता अर्जुन कुमारले 'चपली हाइट ३' निर्माण गरेका थिए ।