‘जारी’ टिजर: दया र मिरुनाको सम्बन्धमा आएको उतारचढाव
आगामी नयाँ वर्ष अर्थात् बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी’को टिजर सार्वजनिक भएको छ ।
उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको जारी’ को टिजरमा पूर्वी पहाडको लिम्बू समुदायको परम्परा, संस्कृति, भेषभूषा र परिवेशलाई प्रस्तुत गरिएको छ । यो फिल्म उपेन्द्र सुब्बाको डेब्यु निर्देशकीय फिल्म हो ।
मंगलवार सार्वजनिक गरिएको दृश्यकाव्य टिजरमा संवादहरू भने छैनन्। दुई मिनेट ४६ सेकेन्ड लामो टिजर कविताबाट सुरु भएर कवितामै टुंगिएको छ। पारिवारिक भूमिकामा देखिएका दयाहाङ राई र मिरुना मगर बीचको माया प्रेम र उनीहरूको सम्बन्धमा आएको उतारचढावको कथा समेटिएको छ।
जारी प्रथामाथि आधारित रहेको फिल्ममा दयाहाङ र मिरुना बाहेक प्रेम सुब्बा, विजय बराल, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ।
यस्तै, फिल्ममा सुरेश लिम्बूको कथा, झुमा लिम्बू र गङ्गा थापाको सङ्गीत, शैलेन्द्र कार्कीको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन छ । फिल्मका निर्माता रामबाबु गुरुङ हुन्।
यसअघि दयाहाङ र मिरुना सर्वाधिक कमाउने रेकर्ड राखेको फिल्म ‘कबड्डी- ४’मा मुख्य भूमिकामा देखिएका थिए।
प्रतिक्रिया