बलिउड र हलिउड फिल्मका कारण ‘फूलबारी’लाई औषत शो


फागुणको ५ गतेबाट रिलिज हुन लागेको नेपाली फिल्म ‘फूलबारी’को अग्रिम बुकिङ मल्टिप्लेक्समा सोमबार नै खुलेको छ । फिल्म रिलिजको ४ दिन अगाडि नै बुकिङ खोलेर प्रदर्शकहरुले दर्शकलाई फिल्मप्रति आकर्षित गर्न खोजेका छन् ।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो फिल्मको क्यूएफएक्स, वान सिनेमाज्, बीग मुभिज लगायतका मल्टिप्लेक्समा बुकिङ खुला गरिएको हो । फिल्मले औषतमा मल्टिप्लेक्समा ३५ प्रतिशत शोज पाएको छ । बलिउड फिल्म ‘शेहजादा’ र हलिउड फिल्म ‘एन्टम्यान एण्ड द वास्प’ पनि रिलिज हुने भएकाले फिल्मले औषत मात्र शोज पाएको हो । 

यो फिल्मको ट्रेलर र गीत हिट भैसकेको छ । यसैले, फिल्मको वर्ड अफ माउथ बलियो आएको खण्डमा महाशिवरात्री, प्रजातन्त्र दिवस र ग्याप्लो ल्होसारमा फिल्मको शोज बढ्ने निश्चित छ । यो फिल्मलाई क्यूएफएक्स चेनले २९ शोज, वान सिनेमाजल् ९ शो, बीभ मुभिजमा ६ शोज, रन्जना सिनेप्लेक्समा ५ शो, सिनेप्लेक्समा ७ शो, बीएसआरमा २ शो, एफक्यूब र किर्तिपुर सिनेप्लेक्समा ५–५ शोज दिइएको छ । 

पारिवारिक कथामा निर्माण भएको यो फिल्ममा विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की, दयाहाङ राई, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखक लगायतका कलाकारको अभिनय छ ।

उपेन्द्र सुब्बाको लेखन र कमल किशोर मलपानीको कन्सेप्टमा तयार भएको फिल्ममा जोस हेरुमको छायांकन, कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन छ । यसोद फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा मणिराम पोखरेल कार्यकारी निर्माताको रुपमा छन् । फिल्मका निर्माता मनिष ढकाल हुन् ।