फेरि हिस्स नहुन् नीति


नेपाली फिल्म क्षेत्रलाई कुनै समय वेवास्ता गरेकी मोडल नीति शाह विगत केही बर्षदेखि भने यो क्षेत्रमा प्रवेश गर्न कसरत गरिरहेकी छिन् । उनको दौडधुप पनि नायिका बन्ने नै छ । तर, सुरुवातमा वेवास्ता गरेकाले पनि हुनसक्छ उनलाई फिल्म क्षेत्रले सुखद साथ दिन सकिरहेको छैन । 

नीतिले सन्तोष सेनको निर्माणमा बन्ने फिल्म ‘हुतुतु’ साइन गरेकी थिइन् । तर, यो फिल्म बन्ने नबन्ने अब कुनै टुंगो छैन । यो फिल्म नबन्ने छनक देखेपछि नीतिले मुकुन्द भट्टको निर्देशनमा तयार हुने फिल्म ‘एक्स ९’ साइन गरिन् ।

यो फिल्ममा नायक अनमोल केसी भएकाले साइन गरेर भाग्य चम्काउने सोच बनाएकी नीति असफल भइन् । किनकी, अनमोलले फिल्म छाडेर अर्का नायक प्रदीप खड्काले प्रवेश गरिसकेका छन् । यो फिल्म बनाउने भनेर मुकुन्द लागेका छन् । 

यही विचमा नीतिले फेरि फिल्म ‘कामिनो’ साइन गर्न लागेको चर्चा चलेको छ । निर्माणपक्षले पनि नीतिसँग कुरा गरिरहेको छ । यो फिल्ममा पनि नायक प्रदीप खड्का नै मुख्य भूमिकामा छन् । 
नीति फेरि आशावादी देखिएकी छिन् । दीपक वलीको निर्देशनमा बन्न लागेको यो फिल्ममा नायिका वर्षा सिवाकोटी अतिथी भूमिकाका लागि फाइनल भैसकेकी छिन् । मुख्य नायिका खोजिरहेको निर्माण टिमले नीतिसँग कुरा त अगाडि बढाएको छ । यसपटक भने नीति हिस्स नहुन्, हाम्रो शुभकामना ।