बजेट कम हुँदा परिवारलाई समेट्न सक्ने, कलाकारलाई समेट्न नसक्ने हो भुवनजी ?


चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले दुबइमा आयोजना भैरहेको फिल्म महोत्सवमा बजेट कम भएकाले धेरै कलाकारलाई समेट्न नसकेको तर्क गरेका छन् । दुबई उड्नु अगाडि पत्रकारसँग विमानस्थलमा कुरा गर्दै उनले बजेट कम भएकै कारण यसपटक धेरै कलाकार र पत्रकारलाई समेट्न नसकेको तर्क गरे । 

तर, भुवनले यसो भन्दै गर्दा विकास बोर्डले ३० लाखको बजेटमा आयोजना गरेको फिल्म महोत्सवमा बोर्डकै सदस्यका श्रीमतीदेखि पत्रकारका श्रीमतीसम्म दुबई पुगेका छन् । 

बोर्डले आयोजना गरेको भनिएतापनि सूर्य कर्पोरेशन हाबी भएको महोत्सवमा भुवन केसीकै प्रेमिका जीया केसी, संचारकर्मी प्रकाश सुवेदीकी श्रीमति, बोर्ड  सदस्य अर्जुन कुमारकी श्रीमती लगायत बोर्डको खर्चमा दुबई  पुगेका छन् । 

दुबइमा आयोजना हुन लागेको महोत्सवमा आयोजकदेखि पत्रकारका श्रीमती लगेर कसरी फिल्म क्षेत्रको विकास र विस्तार हुन्छ, त्यो भुवन केसी र उनको टिमले नै जान्ने कुरा भयो । 

उनीहरुको साटो भुवन केसीले केही कलाकारलाई दुबई लगेको भए त्यसको प्रभाव पर्ने निश्चित थियो । तर, यसपटक केसीले दुबइमा आफ्ना नजिकका केही फिल्मीकर्मीलाई लगे । यसैले, बोर्डले ३० लाख खर्चमा गर्न लागेको महोत्सवको प्रभाव न नेपालमा पर्ने देखिन्छ, न दुबइमा नै ।