महेश र विनिताको ‘हल्कारा’ बैशाख २९ बाट रिलिज हुने
अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको फिल्म ‘हल्कारा’ वैशाख २९ मा प्रदर्शनमा आउने पक्क भएको छ । अमेरिकामा नै बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका छ ।
‘फिल्मले गाउँमा चिठ्ठी पुर्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोसिस गरेको छ,’ निर्देशक सापकोटाले मिडियासँग भने–‘ फिल्म सत्यकथा प्रेरित हो । तर कथालाई सकेसम्म मनोरञ्जक हिसाबले प्रस्तुत गर्ने प्रयास गरिएको छ ।’
फिल्ममा महेश त्रिपाठीले रामको रुपमा हुलाकीको चरित्र निर्वाह गरेका छन् भने बिनिता थापा मगर मियाको चरित्रमा छिन् ।
‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल उत्कृष्ट फिल्म घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड समेत प्राप्त गरेका थिए ।
यसैगरि यो फिल्म नेपाल–अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो भने बाँकी अन्य फेस्टिभलमा पनि छनौट भएको थियो । महेशले फिल्म ‘चपली हाइट ३’बाट यो क्षेत्रमा डेब्यू गरेका थिए । उनी अभिनित फिल्म ‘प्रसाद २’ पनि रिलिजका लागि तयार छ ।
यो फिल्ममा महेश र बिनिता बाहेक उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको अभिनय छ ।
फिल्मलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले मिलेर लेखेका हुन् । चिन्तन राज भण्डारीको छायांकन रहेको फिल्मलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् । फिल्मको सम्पादन पनि विक्रम स्वयंको हो ।
प्रतिक्रिया