भुवन केसीले पारिवारिक महोत्सव बनाएपछि मिडिया छल्दै दुबई उडे अनमोल
फिल्म ‘छड्के २’को छायांकन सकेर ‘जेरी २’को छायांकन सुरु गर्ने तयारीमा रहेका नायक अनमोल केसी दुबई उडेका छन् ।
उनका पिता भुवन केसी अध्यक्ष रहेको चलचित्र विकास बोर्डले दुबईमा आयोजना गर्न लागेको फिल्म महोत्सवमा सहभागी हुन उनी दुबई उडेका हुन् । विकास बोर्डले आयोजना गर्ने भनिए तापनि व्यवस्थापनको जिम्मा लिएको सूर्य कर्पोरेसन हाबी भएको महोत्सवमा अनमोल पुग्दा अधिकांश फिल्मकर्मी अचम्मित छन् । किनकि, अनमोल देश भित्र वा देश बाहिर आयोजना हुने ठुला ठुला फिल्म अवार्डमा समेत सहभागी हुन मान्दैनन् ।
तर, आयोजना हुनु अगाडि नै चर्को विरोधमा रहेको महोत्सवमा सहभागी हुन अनमोल कसरी राजी भए भन्ने प्रश्न भने यति बेला उठेको छ । विशेष स्रोतका अनुसार, महोत्सव विवादित हुने भएपछि अनमोल सहभागी नहुने सोचमा समेत थिए । तर, उनका पिता भुवन केसी र जिया केसीले सम्झाएपछि उनी दुबई उड्न तयार भएका हुन् ।
सायद, यही कुरा बुझेर पनि हुनसक्छ अनमोलले महोत्सवमा दुबई उड्नु अगाडि मिडियाको अगाडि कुरा राख्न सकेनन् । आयोजकले विमानस्थलमा महोत्सवको पत्रकार सम्मेलन नै भनेर बोलाए पनि त्यसको कुनै तयारी गरेन, बरु मिडियाकर्मी दुबई जानेहरूको अनुहार खिचेर फर्किए ।
भुवन केसीले अनमोल मिडियासामु आउँछन् भनेर बारम्बार भने पनि उनी मिडियाको अगाडि फेस गर्न नै नसक्ने अवस्थामा थिए । एउटा कुरा स्पष्ट के छ भने, फिल्म क्षेत्रमा आफूलाई विवादमा खासै नपार्ने अनमोल यो महोत्सवपछि विवादको घेरामा आउने पक्का छ । यसको विस्तृत समाचार हामी केही दिनमै सार्वजनिक गर्नेछौँ ।
रोचक कुरा त के छ भने, भुवन केसी अध्यक्ष रहेको विकास बोर्डको यो महोत्सव पारिवारिक जस्तो देखिएको छ ।
भुवन केसी, अनमोल केसी र जिया केसी विकास बोर्डको महोत्सवमा दुबई उडे । भुवन र अनमोल फिल्म क्षेत्रसँग नै जोडिएकाले महोत्सवमा जानु स्वाभाविक हो । तर, जिया केसीलाई सरकारी खर्चमा दुबई उडाउनुको अर्थ के हो ? यसको जवाफ भुवन केसीले दिनुपर्छ ।
अरूको चर्को आलोचना गर्ने सञ्चारकर्मी प्रकाश सुवेदीले पनि यही मौकामा श्रीमतीलाई सरकारी खर्चमा दुबई उडाए । विकास बोर्डका सदस्य अर्जुन कुमारले पनि यही मौकामा श्रीमतीलाई सरकारी खर्चमा दुबई उडाएका छन् ।
विकास बोर्डले ३० लाख खर्च गरेर दुबईमा नेपाली फिल्मको विकास गर्न भन्दै आयोजना गर्न लागेको महोत्सवमा सहभागीहरूको अनुहार हेर्दा पनि, अचम्मित पार्ने खालको छ ।
आम फिल्मीकर्मीहरुले विकास बोर्डले ३० लाख खर्च गरे पनि सूर्य कर्पोरेसन नै हाबी भएर भुवन केसी निरीह बनेको यो महोत्सव किन र कसका लागि गर्न लागिएको हो भन्ने अहिलेसम्म भेउ पाउन सकेका छैनन् । सायद, महोत्सव सकिएपछि यसको औचित्य खुल्दै जाला ।
प्रतिक्रिया