भुवन केसी बोल्छन् मात्र, तर गर्दैनन्


आफैले नियुक्त गरेका सल्लाहाकारहरुले समेत साथ छाडेपछि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी एक्लिएका छन् । विकास बोर्डमा नियुक्त भएको आधा बर्ष बितिसक्दा पनि कुनै उल्लेखनीय काम नगरेका केसीले हरेक समारोहमा नेपाली फिल्मको विकासको कुरा गर्न भने पछि पर्दैनन् । 

भुवन केसीले बिहिबार आयोजना भएको ‘११ औं नेफ्टा फिल्म अवार्ड’को कार्यक्रममा पनि नेपाली फिल्मको विकासको कुरा दोहोर्याए । उनले, आफूले लामो समय नेपाली फिल्म क्षेत्रमा काम गरेको र यहाँको अवस्था वुझेको बताएका थिए । यसैले, आफूले विकास बोर्डमा गएर नेपाली फिल्मको काम गर्नमा नै समय बिताउने प्रण गरेको तर्क उनको थियो । 

उसो त, सार्वजनिक कार्यक्रममा भुवन केसीले आफूले फिल्म क्षेत्रको बारेमा धेरै वुझेको बारम्बार बताएपनि उनको काम गराइले भने बोलाई र गराइमा फरक रहेको प्रमाणित गरिरहेको छ । 

भुवन केसीबाट निक्कै आशा रहेको तर अब निराशा छाउन थालेको तर्क फिल्मीकर्मीले नै गर्न थालेका छन् । 

बाहिर बसेर भाषण गर्नु र काम गर्ने स्थानमा पुगेर नतिजा निकाल्नु फरक कुरा हो । भुवन केसीले विकास बोर्डमा आधा बर्ष समय बिताउँदै गर्दा उनी विवादित मात्र बनेको पाइन्छ । 

नायकको रुपमा ‘नाम होस्, बदनाम होस् तर गुमनाम नहोस्’ भन्ने शैली अपनाएका केसी विकास बोर्ड अध्यक्ष बनेपछि पनि यही शैलीबाट पछि हट्न सकेका छैनन् ।