ट्रफी हस्तान्तरण गर्दै ‘११ औैं नेफ्टा फिल्म अवार्ड’को घोषणा


नेपाली फिल्म क्षेत्रको सबैभन्दा चर्चित र लोकप्रिय फिल्म अवार्ड ‘नेफ्टा फिल्म अवार्ड’को आज काठमाडौंको पाँच तारे होटल सोल्टीमा भव्य कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्र प्राविधिक संघ र नेफ्टा आयोजक पदाधिकारीहरुलाई अवार्डको ट्रफी हस्तान्तरण गरेसँगै औपचारिक रुपमा अवार्डको उद्घाटन भएको हो । 

अवार्डको घोषणा कार्यक्रममा नेपाली फिल्म क्षेत्रका फिल्मीकर्मी र संगीतकर्मीहरुको बाक्लो उपस्थिती थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी मदनकृष्ण श्रेष्ठले नेफ्टा अवार्डले विदेशी भूमिमा नेपाली फिल्मको प्रवद्धन गरेको भन्दै खुशी व्यक्त गरे । 

यस्तै, नेफ्टाका अध्यक्ष पुष्कर लामाले विदेशी भूमिमा अवार्ड आयोजना गर्दा उक्त देशमा नेपाली फिल्मको विस्तार भएको जानकारी दिए । 

नेफ्टाको ११ औं संस्करण अमेरिकाको टेक्सासमा जेठ १३ अर्थात मे २७ मा आयोजना हुनेछ । कार्यक्रममा नेफ्टाका अध्यक्ष पुष्कर लामाले अमेरिकाको अवार्ड आयोजक टिमका सदस्यहरु विमल पछाई र ओम आचार्यलाई ट्रफी हस्तान्तरण गरेका थिए । 
कार्यक्रममा बोल्दै आयोजक संस्था यूएस खबरका सम्पादक ओम आचार्यले भने–‘नेपाली फिल्मकको विकास र विस्तारमा सहयोग गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं । बजारमा अमेरिकामा अवार्ड आयोजना गर्ने नाउँमा मानव तस्करी गर्ने हल्ला समेत फैलाइएको रहेछ । तर, हामी अमेरिका जाने सम्पूर्ण फिल्मीकर्मीको नाम अमेरिका जानु अगाडि नै सार्वजनिक गर्नेछौं । अवार्ड सकिएपछि उहाँहरु सबै नेपाल फर्किनुहुनेछ ।’

यस्तै, अवार्ड आयोजक संस्था फेम नेपालका अध्यक्ष बिमल पछाइले भने–‘हलिउड र बलिउडसँग पनि सहकार्य गर्दै नेपाली संकृतिको विकासमा यो अवार्डले भूमिका खेल्नेछ । अवार्डमा सर्वश्रेष्ठ नायक र नायिका विधाको पुरस्कार कुनै एक हलिउड र बलिउडका कलाकारले प्रदान गर्नेछन् । हामीले टेक्ससस्थित नेपाली समुदायलाई समेटेर झण्डै दुई किलोमिटर नेपाल परेड कार्यक्रममार्फत सांकृतिक झाँकी प्रस्तुत समेत गर्नेछौं । उक्त परेडमा सातै प्रदेशको संस्कृति, भेषभुषा झल्किने झाँकी पनि प्रस्तुत हुनेछ ।’

यस्तै, आयोजक संस्थामध्यको एक आर्यन फिल्म्सका प्रमुख रमेश एमके पौडेलले पनि अवार्डले अन्तरराष्ट्रिय बजारमा नेपाली फिल्मको विकासमा टेवा पुर्याउने बताए । 
नेफ्टाले यसपटक यो बर्ष रिलिज भएका फिल्मलाई ४२ वटा विधामा राखेर प्रतिस्पर्धा हुने बताएको छ । 

नेफ्टाले यसअघि मलेसिया, हङकङ, दुबई र कतारमा पनि अवार्ड आयोजना गरिसकेको छ ।