के भूवन केसीले निर्माता संघलाई चलचित्र संघ विरुद्ध उक्साएका हुन् ?
चलचित्र निर्माता संघले सञ्चारमन्त्रीलाई भेटेर बुझाएको ज्ञापनपत्रमा चलचित्र संघ विरुद्ध गम्भीर आरोप लगाइएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको समेत उपस्थितिमा निर्माता संघले चलचित्र संघविरुद्ध गम्भीर आरोप लगाउँदै ज्ञापन पत्र बुझायो ।
ज्ञापन पत्रमा चलचित्र संघले ‘बिदेशी मुद्राको अपचल गरेको, राज्य कोषको दोहन गरेको, आपराधिक क्रियाकलपामा संलग्न रहेको जस्ता आरोप लगाइएका छन् ।
चलचित्र संघले निर्माता संघसँगको वार्ता र छलफलको वातावरण नै बिथोलिने चेतावनी दिइसकेको छ । संघले, यस्ता आरोप सहितको ज्ञापनपत्र बुझाउँदा पनि विकास बोर्ड अध्यक्षले केही नबोलेकोमा आफूहरू स्तब्ध भएको पनि उल्लेख गरेको छ ।
यसैबिच, निर्माता, वितरक तथा निर्देशक अशोक शर्माले पनि चलचित्र निर्माता संघलाई विकास बोर्डको उक्साहटमा नलाग्न आग्रह गरेका छन् । उनले भनेका छन्–‘चलचित्र संघसँग सम्पूर्ण निर्माताको हितमा कार्य हुने गरि विश्वासको वातावरण बनाउनु नै नेतृत्वको परिपक्वता हो । चलचित्र विकास बोर्डको उक्साहटमा हामीले हाम्रो कार्य गर्ने होइन । सबैलाई चेतना भया ।’
चलचित्र विकास बोर्डमा अध्यक्ष भएर गएपछि भुवन केसी निरन्तर विवादमा छन् । उनले, केही महिना अगाडि प्रदर्शक लाई कस्ने गरि ल्याएको नियमको चर्को विरोध भएको थियो । यसपछि, केसीले आफूले ल्याएको नियम फिर्ता लिएका थिए । अब, फेरि उनलाई निर्माताहरूलाई चलचित्र संघ विरुद्ध उक्साएको आरोप लागेको छ ।
प्रतिक्रिया