सञ्चारमन्त्री शर्माको प्रश्न : विदेशी फिल्म चल्ने, नेपाली फिल्म नचल्ने कारण के हो ?

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई फिल्मका लेखक–निर्देशकलाई विदेशी फिल्म महिनौँ चल्ने तर नेपाली फिल्म एक दिन नचल्ने अवस्था किन छ भनेर प्रश्न गरेकी छिन् । 
मंगलबार चलचित्र निर्देशक समाजले युएनडीपीसँग मिलेर गर्न लागेको ‘कोडिङ क्लाइमेट चेन्ज इन्टु फिल्मस्’ शीर्षकको दुई दिने सेमिनारको उद्घाटन गर्दै उनले विदेशी फिल्म चल्ने र नेपाली फिल्म नचल्ने कारण पहिल्याउन जरुरी रहेको धारणा राखेकी थिइन् ।

‘मैले फिल्म उति सारो बुझेको छैन तर प्रशस्त हेरेकी छु । अरुका फिल्म चल्ने तर हाम्रा फिल्म नचल्ने अवस्था छ । नेपाली फिल्म चलाउन चलचित्र विकास बोर्डले के गर्न पर्ने हो र मन्त्रालयले के गर्न पर्ने हो ? छलफल गरौँ । तर यो अवस्थाको अन्त्य हुन जरुरी छ,’उनको भनाइ थियो । 

उनले नेपाली फिल्मले क्वान्टिटी भन्दा पनि क्वालिटी बढाउने गरी काम गर्नुपर्ने र जलवायु परिवर्तन जस्ता विषयमा हुने छलफलले विषयवस्तुमा विविधिकरण हुने धारणा राखेकी थिइन् । ‘समाज तथा राजनीतिक परिवर्तनका लागि पनि नेपालमा गीत संगीत र फिल्मको ठूलो योगदान छ,’उनले भनिन्, ‘अहिले जलवायु परिवर्तनका मुद्दालाई जनतासम्म पुर्याउन पनि सिनेमाको माध्यम उपयोगी हुन्छ । अहिले माघमै गर्मी भएको छ , यसको कारण के हो , हामी पर्दामा हेर्न उत्सुक छौँ  ।’

सञ्चारमन्त्री शर्माले कुनै समय आफू पनि भारतीय सिनेमा बन्द गर्ने मोर्चाको अग्रभागमा रहेको स्मरण गर्दै अहिले अरुलाई निषेध गर्नेभन्दा पनि प्रतिस्पर्धा गरेर जाने समय भएकोले नेपाली सिनेमा पनि प्रतिस्पर्धी बन्नु पर्ने बताएकी थिइन् । यसका लागि मन्त्रालयबाट गर्नुपर्ने नीतिगत काम आफूले अगाडि बढाउने बताउँदै चलचित्र ऐन संसद्मा लैजाने तयारी गरिरहेको जानकारी दिएकी थिइन् ।

बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा मंगलबारदेखि सुरु भएको सेमिनारमा पहिलो दिन सहभागी लेखक तथा निर्देशकले जलवायु परिवर्तन र यसका असरका सम्बन्धमा जानकारी हासिल गरेका थिए । पहिलो दिन युएनडीपीका प्रतिनिधि दीपक केसीले विश्वमा जलवायु परिवर्तनको अवस्था र नेपालमा यसले पारिरहेको असरका बारेमा प्रस्तुति दिएका थिए । निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले बुधबार अघिल्लो दिन छलफलमा आएका मुद्दालाई फिल्मका कथा तथा प्रस्तुुतिमा समेट्न सहभागी लेखक तथा निर्देशकबाट राय सुझाव लिने कार्यक्रम रहेको बताएका छन् । 

उनले यो पटकको कार्यक्रममा युएनडीपीको निर्देशन अनुसार थोरै सहभागीका लागि मात्र ठाउँ रहेकाले इच्छुक सबैलाई सहभागी गराउन नसकेको तर आगामी दिनमा यही विषयमा वृहत कार्यक्रम गर्ने तयारी भइरहेको जानकारी गराएका थिए ।

मंगलबार युएनडीपीकी नेपाली प्रतिनिधि आइसानी लोबे, युएनडीपीकै सञ्चार प्रमुख कमल सिग्देल र वरिष्ठ फिल्मकर्मी नीर शाहले जलवायु परिवर्तनको भयावह अवस्थालाई प्रस्तुत गरेका थिए । सेमिनारमा तीन दर्जन लेखक तथा निर्देशकको सहभागिता रहेको छ ।