आशिषको ‘पिरिम नलाउने’ गीतलाई १ सय मिलियन प्लस भ्युज

‘पिरिम नलाउने’ बोलको गीत भिडियोले १ सय मिलियन प्लस भ्युज पाउन सफल भएको छ । 

आधुनिक नेपाली म्युजिक भिडियो इतिहासमा ‘पिरिम नलाउने’ युट्युबमा सर्वाधिक हेरिएको म्युजिक भिडियो बन्न सफल भएको हो ।

चार वर्षअघि ‘ओएसआर डिजिटल’ मार्फत सार्वजनिक गरिएको (२०७५) मा आशिष गौतम (सचिन) र मेलिना राईको स्वरमा सार्वजनिक भएको उक्त्त गीतलाई युट्युबमा अहिलेसम्म १० करोड ५८ हजार आठ सय ४१ पटक हेरिएको छ भने, आठ हजार पाँच सय ८९ जनाले प्रतिक्रिया समेत दिएका छन् ।

आरोही एल्बममा समावेश गीतको भिडियोलाई सञ्चारकर्मी सुव्रत आचार्यले निर्देशन गरेका हुन् । गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा गायक आशिषसँगै अभिनेत्री वर्षा राउतको नृत्य छ । गीतमा दसैँमा गाउँ फर्किएको परदेशीको मायासँगको भेटलाई दर्साइएको छ । यो गीतमा दीपक शर्माको शब्द एवं संगीत रहेको छ भने नरेन्द्र वियोगीले एरेन्ज गरेका छन् ।

आफूले गाएको र अभिनय गरेको गीतले युट्युबमा १० करोड भ्युज पाएसँगै आशिषले सामाजिक सञ्जालमार्फत एक निरन्तर यात्राको अर्को उपलब्धि भन्दै खुशी साटेका छन् ।

उनले यस गीतबाट १० करोड बढी भ्युज पाउँदा आफूहरु एकदमै हर्षित र विनम्र रहेको बताएका छन् ।

‘हजुरहरुको साथ, माया र हौसलाको आजीवन ऋणी रहने छौं । सहृदय धन्यवाद सम्पूर्ण सहयोगी, परिवार र शुभचिन्तकहरुप्रति । हजुरहरुको निरन्तर समर्थन र हामीसँग यो अद्भुत यात्राप्रति कृतज्ञ छौं’ उनले भनेका छन् ।

गीतको छायांकन उत्सव दाहालले गरेका हुन् भने यसको सम्पादन नविन निरौलाले गरेका हुन् ।