वरिष्ठ कलाकार पदमप्रसाद पौडेलको निधन

वरिष्ठ कलाकार पदमप्रसाद पौडेलको मंगलबार निधन भएको छ ।  

पौडेल लामो समयदेखि दमको रोगबाट पीडित थिए । उनको ९२ वर्षको उमेरमा बुढानीलकण्ठस्थित आफ्नै घरमा अपराह्न साढे तीन बजे निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए ।

मंगलबार साँझ पशुपति आर्यघाटमा कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जलि दिएपछि उनको दाहसंस्कार गरिएको छ । अन्तिम संस्कारमा सहभागी हुन कलाकारहरू आर्यघाट पुगेका थिए ।

पौडेल अभिनीत पछिल्ला फिल्म ‘ऐना झ्यालको पुतली’ र ‘नालापानी’ केही अगाडि प्रदर्शनमा आएको थियो । ‘ऐना झ्यालको पुतली’ फिल्म नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको थियो । यसैगरी, फिल्म ‘नालापानी’मा पौडेलले राजगुरुको भूमिकामा अभिनय गरेका थिए ।

करिब ७० बढी फिल्म अभिनय गरेका पौडेल चलचित्र कलाकार सङ्घका आजीवन सदस्य थिए । रिसानी माफ, उपद्रो, आधा बाटोसहित पाँच दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेका पौडेलको टेलिफिल्म, म्युजिक भिडियो र विज्ञापनमा समेत अभिनय देख्न पाइन्छ ।

पौडेलका श्रीमती, पाँच छोरा र दुई छोरी र १४ जना नातिनातिनी छन् । संखुवासभाको चैनपुरका उनले कलाकारिता अगाडि शिक्षण पेसा र राससको संखुवासभा प्रतिनिधि भएर काम गरेका थिए । २०३८ सालबाट पत्रकारिता गरेका उनले त्यही समयमा अभिनय शुरु गरेका थिए ।