साम्राज्ञीको फिल्म जती गरेपनि चलेन


नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित २ फिल्म ‘तिम्रो मेरो साथ र ह्यारी कि प्यारी’ ३ साताको अन्तरमा रिलिज भए । यी दुई फिल्मका लागि निर्माताले कलाकारको साथ लिएर मोसफल यात्रा गरेका थिए ।

यो बर्ष रिलिज भएका फिल्ममध्ये सबैभन्दा धेरै मोसफलमा प्रचार गरिएको फिल्म पनि यी दुई नै थिए । यी दुबै फिल्मका निर्माताले  पूर्वदेखि पश्चिमसम्मका मुख्य शहरमा कन्सर्ट गरे । महोत्सवमा पनि साम्राज्ञीले दर्शकसँग साक्षात्कार गरिन् । फिल्म प्रचारबाट निर्माता मख्ख थिए । 

तर, दुःखको कुरा यी दुबै फिल्म बक्स अफिसमा नराम्रोसँग चिप्लिए । ‘तिम्रो मेरो साथ’ त बक्स अफिसमा सुपर फ्लप भयो । ‘ह्यारी कि प्यारी’ले शनिबार केही हलमा एक दुई शोज दर्शकको साथ नपाएको होइन ।

तर, फिल्मको व्यापार शुक्रबारबाटै कमजोर देखियो । डाक्टर कपिल रिजालको सर्वाधिक महत्वकांक्षी यो फिल्मलाई लिएर साम्राज्ञी पनि उत्साहित थिइन् । तर, उनको गिर्दो क्रेजलाई यी दुबै फिल्मले बचाउन सकेनन् । 

साम्राज्ञीको करिअरमा ‘ड्रिम्स, ए मेरो हजुर २ र इन्टु मिन्टु लण्डनमा’पछि निरन्तर फिल्म असफल भैरहेका छन् । यो बर्ष पनि उनका लागि सुखद बन्न सकेन । उनको अर्को फिल्म ‘लण्डन टू पेरिस’को प्रदर्शन मिति भने फागुणबाट पोष्टपोन्ड गरिएको छ । 

साम्राज्ञीले आफूलाई बलियो तरिकाले प्रस्तुत गर्न कोशिश नगरेकी होइनन् । मिडियासँग सर्वाधिक रुष्ट साम्राज्ञी यसपटक नरम देखिइन् । तर, उनलाई दर्शकले रुचाएनन् । साम्राज्ञीले अब आफ्नो करिअरको बिषयमा गम्भिर समीक्षा गर्न आवश्यक छ । होइन भने, उनीमाथि महंगो लगानी गर्ने निर्माताहरु पनि निराश हुनुपर्ने दिन आइरहेको छ ।