साहरुखले सुरु गरे ४ सय करोड क्लब, ‘केजीएफ २’को रेकर्ड तोडिदै


सन् २०१३ मा रिलिज भएको फिल्म ‘चेन्नई एक्सप्रेस’पछि हिट फिल्म दिन नसकिरहेका नायक साहरुख खानले यसको एक दशकपछि बलिउडको अहिलेसम्मकै ब्लकबस्टर फिल्म दर्शकलाई दिएका छन् । बलिउड पूर्ण रुपमा संकटमा रहेको अवस्थामा साहरुख अभिनित फिल्म ‘पठान’ संजिबनी बुटी बनेर आएको छ । 

जनवरी २५ तारिखबाट रिलिज भएको फिल्मले बक्स अफिसमा बम्पर व्यापारलाई कायम राखिरहेको छ । यो फिल्मले दोश्रो साताको विकेन्डमा ६३.५० करोडको व्यापार गर्दै बलिउडमा पहिलो पटक ४ सय करोड क्लबको सुरुवात समेत गरेको छ । 

फिल्मले दोश्रो साताको आइतबार २७.५० करोडको व्यापार गर्दै बक्स अफिसमा हिन्दी भाषामा मात्र ४१४.५० करोडको कमाई गरेको छ । यस्तै, फिल्मले तामिल र तेलुगु भाषामा १५.४० करोडको कमाई गरेको छ । चलचित्रको भारतमा मात्र नेट कलेक्शन ४२९.९० करोड पुगेको छ । 

फिल्मले हिन्दी भाषामा ‘केजीएफ २’ले बनाएको रेकर्ड समेत तोड्ने पक्का भएको छ । यतिमात्र होइन, यो फिल्मले ‘बाहुबली २’ले हिन्दी भाषामा कमाएको ५११ करोडको रेकर्ड समेत तोड्ने अनुमान गरिएको छ । 

सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको यो फिल्ममा साहरुख खान, दीपिका पादुकोण र जोन अब्राहिमको मुख्य भूमिका छ । यशराज ब्यानरले बनाएको यो फिल्मले शनिबार मात्र ‘दंगल’ फिल्मको रेकर्ड तोडेको थियो ।