२ दिन दर्शक तान्न नसक्ने कलाकारले १ लाख ८० हजार पारिश्रमिक लिए हुन्छः शोभित बस्नेत
नेपाली फिल्मका कलाकारले महंगो पारिश्रमिक लिने गरेको कुरा त अब नौलो भएन । तर, महंगो पारिश्रमिक लिएपनि २ दिन हलमा दर्शक तान्न सक्ने कलाकारको अभाव भने यो क्षेत्रमा खुबै छ ।
कतिपय कलाकारको फिल्मले त निर्माताले दिएको पारिश्रमिक बराबरको व्यापार पनि गर्न नसकेका उदाहरण धेरै छन् ।
निर्देशक तथा निर्माता शोभित बस्नेतले नेपालमा २ दिन दर्शक तान्न सक्ने कलाकारको रुपमा अनमोल केसी, प्रदीप खड्का र पूजा शर्मा मात्र रहेको बताएका छन् । मिडिया कुराकानीमा शोभितले भने–‘पक्कै पनि बिषयवस्तुले नै हो दर्शक हलसम्म तान्ने तर, रिलिज भएको बिहानै दर्शकलाई बिषयवस्तु के हो भनेर कसरी थाहा हुन्छ ? यसैले, २ दिन हलमा दर्शक स्टारले तान्नुपर्छ । आइतबारदेखि भने बिषयवस्तुले नै दर्शकलाई हलसम्म तान्छ । अहिले दर्शक तान्न सक्ने कलाकार भनेको अनमोल केसी, प्रदीप खड्का र पूजा शर्मा मात्र हुन् । २ दिन पनि हलमा एक शो भर्न नसक्ने कलाकारले अब १८ लाख होइन, १ लाख ८० हजार पारिश्रमिक लिए हुन्छ ।’
शोभितले यो कटाक्ष कुनै एक जनाप्रति लक्षित नगरेको पनि बताए । शोभितले अब आफू फिल्म निर्माणमा बढी सक्रिय हुने समेत बताएका छन् ।
प्रतिक्रिया