पठानः सलमान र शाहरुखसँगै देखाउन कैयौंपटक पुनर्लेखन

बक्सअफिसमा शानदार कमाई गरिरहेको सिद्धार्थ आनन्द निर्देशित र शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्म ‘पठान’ प्रति दर्शकको क्रेज उस्तै छ । चार वर्षपछि पर्दामा फर्किएका शाहरुखले आफूलाई बलिउडको बादशाहका रुपमा साबित गरिसकेका छन् । यतीमात्र होइन उनले आफ्नो स्टारडम देशदेखि विदेशसम्म जिउँदो रहेको देखाइसकेका छन् ।

फिल्ममा अभिनेता सलमान खानको प्रवेशले दर्शकलाई उत्तिकै ‘मजाको डोज’ दिइरहेको छ । तर, सायद कमैलाई थाहा होला, फिल्ममा सलमान र शाहरुखलाई सँगै देखाउन फिल्मका लेखक अब्बास टायरवालाले कैयौंपटक स्क्रिप्ट पुनर्लेखन गर्नुपरेको थियो ।

फिल्ममा सलमानले पठानलाई बचाउनका लागि टाइगरका रुपमा केमियो गरेका छन् । दुवैको एक्सन दृश्यका अलावा दुवैको संवादले भावना बोलेको छ । लेखक टायरवालाले हालैमात्र स्क्रिप्ट लेखनका विषयमा कुरा खुलाएका छन् ।

‘जब शाहरुख र सलमान पठान र टाइगरका रुपमा स्क्रिनमा देखिन्छन्, त्यसलाई सन्तुलन गर्न त्यति सजिलो थिएन । पहिलो कुरा दर्शकलाई मनोरञ्जन दिनुथियो र दोस्रो कुरा दर्शक शाहरुख र सलमानमै नअलमललिउन, जसकारण उनीहरुले पठान र टाइगरलाई बिर्सिएलान् भन्ने डर थियो । त्यसकारण स्क्रिप्टमा सन्तुलन राख्नुपर्ने चुनौती थियो’, टायरवालाले भनेका छन् ।

उनले फिल्म ‘पठान’ शाहरुखको फिल्म रहेको कुरालाई पनि सम्झनुपर्ने जिम्मेवारी उत्तिकै रहेको बताएका छन् । ‘किनकी फिल्ममा टाइगरको प्रवेश गराउनैपर्छ, जसकारण सबैको ध्यान सलमानतिर जान नदिन उत्तिकै चुनौती थियो । तर सलमानलाई शाहरुखको फिल्ममा विशेष प्रवेश गर्नका लागि केही हुनैपर्छ, जुन हेर्दा दर्शक रोमाञ्चित हुन्’, उनले अगाडि भनेका छन् ।

टायरवालाले यही सन्तुलन बनाउनका लागि दुवैको दृश्यलाई कैयौंपटक पुनर्लेखन गरिएको खुलाए ।

पठान हेर्न बंगलादेशबाट भारत आइपुगे दर्शक

शाहरुख र उनको फिल्मप्रति फ्यानको क्रेज कतिसम्म छ भन्ने कुरा थाहा पाउन हालैको एक घटना हेरे पुग्छ । शाहरुखका एक फ्यानले आफ्नो परिवारलाई ‘पठान’ देखाउन बंगलादेशबाट १ सय ३० किलोमिटर यात्रा गर्दै भारत आइपुगेका छन् । ती फ्यान बंगलादेशको ढाकाबाट भारतको त्रिपुरा पुगेका हुन् ।

अगरतलास्थित रुपासी सिनेमाका मालिक सतदीपले ट्वीट गर्दै यो कुरा खुलाएका हुन् । ‘यो निकै रोचक कुरा छ । मानिसहरु बंगलादेशबाट परिवारका साथ पठान हेर्न भारत आइरहेका छन् । म सबैलाई धन्यवाद दिन चाहन्छु, जसका कारण एकपटक पुनः फिल्म हलमा बहार आएको छ’, उनले ट्वीटेका छन् ।