साम्राज्ञी र जितुको अनस्क्रिन रोमान्स रुचाइदै, दर्शकको उत्साहजनक उपस्थिति

हिजो शुक्रवारदेखि रिलिज भएको फिल्म ‘ह्यारीकी प्यारी’ले दर्शकको राम्रो साथ पाइरहेको छ । आज शनिवार सार्वजनिक बिदाको दिनमा केही स्थानमा फिल्म हेर्ने दर्शकको निकै चाप देखिएको थियो। 

यो फिल्मले प्रिमियरपछि राम्रो चर्चा र तारिफ पाएपछि दर्शकले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार जितु नेपालको अनस्क्रिन रोमान्सलाई रुचाएका छन् । फिल्मले दोस्रो दिन बक्सअफिसमा राम्रो गति लिएको छ । साम्राज्ञी र जितु मुख्य भूमिका रहेको फिल्मले भोलिबाट व्यापारमा लय समात्ने सक्ने संकेत गरेको छ । आज मल्टिप्लेक्सका केही सोजमा ९० प्रतिशत अकुपेन्सी रहेको थियो ।

फिल्मले  ‘वर्ड अफ माउथ’ प्राप्त गर्न सफल भएसँगै लामो समयदेखि सुस्ताएको नेपाली फिल्मको बजारलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । फिल्म रिलिज भएयता कलाकारसहित निर्देशक कपिल रिजाल हल हलमा पुगेर फिल्म हेरिरहेका दर्शकसँग प्रतिक्रिया लिई रहेका छन् । शनिवार मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सको उपत्यकासहित मुख्य सहरका हलमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको छ। यस्तै, बिग मुभिज, आइएनआइ, वान सिनेमाज्, एफक्यूब, बीएसआर, रञ्जना सिनेप्लेक्सलगायतका हलमा पनि दर्शकीय उपस्थिति राम्रो देखियो ।

दर्शकको प्रतिक्रिया सकारात्मक रहेको र उत्साहले आफूहरूलाई खुसी मिलेको  ह्यारीकी प्यारी टिमले बताएको छ । मल्टिप्लेक्सहरुले फिल्मलाई सुखद सोज उपलब्ध गराएसँगै  यदि, भोलिका दिनबाट पनि दर्शकको राम्रो साथ आएको खण्डमा यो फिल्मलाई फाइदा हुने निश्चित छ ।

फिल्म ‘ह्यारीकी प्यारी’ लाई भोलिका लागि क्यूएफएक्स चेनले १८ सोज दिइएको छ । वान सिनेमाज्ले पाँच, बीग मुभिजले चार र रञ्जना सिनेप्लेक्सले दुई सोज दिएका छन् । अन्य हलमा भने फिल्मले ठिक ठिकै सो पाएको छ । 

डाक्टर रिजालको निर्देशनमा तयार भएको फिल्ममा बिजय बराल, लक्ष्मी गिरी, सरला रिजाल, सुवास गजुरेल, नरेश पौड्याल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय छ । सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल, अभिमन्यु निरवीको पटकथा र संवाद लेखन छ । सुदीप बरालले फिल्म खिचेका हुन् ।

डाक्टर भोला रिजालको लगानीमा बनेको यो फिल्मले जितु र साम्राज्ञीको जीवनमा आउने विभिन्न उतारचढावको कथालाई देखाएको छ ।