फिल्म मेकरको शैलीः रिलिज मिति तोक्न हतार, पछि भागाभाग


फागुणको ५ गते फिल्म ‘परदेशी २’का मेकरले प्रदर्शन मिति तय गरे । एक बर्ष अगाडि नै तय गरिएको दशैंको मितिबाट पछि सरेर यसका निर्माता फागुणको ५ गते पुगेका थिए ।

तर, यो मितिबाट पनि यसका निर्माता राजेश बंशल पछि सरेका छन् । अब, फिल्म कहिले रिलिज हुन्छ पत्तो छैन । बारम्बार फिल्मको प्रदर्शन मिति तय गर्दा दर्शक झुक्किने संभावना बढी हुन्छ । अर्कोतिर, प्रदर्शन मितिबाट पछि हटेका धेरै फिल्म नचलेका उदाहरण छन् । 

यही मितिमा अर्को फिल्म ‘लण्डन टू पेरिस’को पनि प्रदर्शन मिति तय गरिएको थियो । तर, निर्माताले फिल्मको काम नै सकेनन् । अब, यो मितिमा यो फिल्म पनि नआउने पक्का भैसकेको छ । फिल्मको शुभसाइत गरेको दिनमै प्रदर्शन मिति तय गर्ने र पछि रिलिज गर्न नसकेर पछि हट्ने शैली नेपाली निर्माताको नयाँ होइन । फागुणको १९ गते पनि यस्तै भयो । यो मितिमा फिल्म ‘परस्त्री, बुलाँकी, वर एन्ड बधु’को प्रदर्शन मिति तय गरिएको थियो । तर, यो मितिमा तिनै फिल्म नआउने पक्का भैसकेको छ ।

‘वर एन्ड बधु’को त छायांकन नै सकिएको छैन । मिलन चाम्सले यो फिल्मको छायांकन नसक्दै अर्को फिल्मको तयारी गरिसकेका छन् । ‘परस्त्री र बुलाँकी’ले अर्का दुई फिल्म ‘छड्के २ र छक्का पन्जा ४’ सँग नआउने निर्णय गरे । 

अब, वैशाखको १ गते पनि ४ वटा फिल्म आउने पक्का भैसकेको छ । अब, फिल्म रिलिजको मिति आइसक्दा कुन कुन फिल्म आउँछन्, पक्कै पनि थाहा हुनेछ । 

नेपाली फिल्म मेकर अतालिएर फिल्मको प्रदर्शन मिति तय गर्छन् । अर्को बर्षको दशैंसम्मलाई फिल्मको रिलिज मिति तय गरिएको छ । तर, रिलिज हुने बेलामा धेरैको भागाभाग नै भएको देखिन्छ ।