नीताको ‘ह्रस्वदीर्घ’बाट बाहिरिए सलोन, आदर्श मिश्र भित्रिए


नायिका नीता ढुंगानाको कम्पनी नीता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘ह्रस्वदीर्घ’को छायांकन हिजोबाट सुरु हुनुपर्ने हो । तर, कलाकारको जम्बो टोली रहेको फिल्मको छायांकन सुरु भएको छैन । निर्माणपक्षले भारतमै वर्कशप भने गराइरहेको छ । 

यसैबिच, फिल्मको छायांकन समयमै सुरु हुन नसकेपछि यसका मुख्य कलाकार सलोन बस्नेत यो फिल्मबाट बाहिरिएका छन् । सलोन आफ्नै होम प्रोडक्शनमा बन्न लागेको फिल्म ‘जय हो’मा व्यस्त हुनुपर्ने भएपछि यो फिल्मबाट बाहिरिएका हुन् । 

उनी, बाहिरिएपछि फिल्ममा कमेडियन आदर्श मिश्रलाई अनुबन्धित गरिएको छ । आदर्श भारतमा रहेर फिल्मको वर्कशप गरिरहेका छन् । चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्मलाई ठूलो क्यानभासमा बनाउने तयारी गरिएको छ । फिल्ममा साउथका कलाकराह्रु ब्रम्हानन्द, सुनिल बर्मा लगायतले पनि काम गर्दैछन् । 

फिल्मलाई नेपाली र हिन्दी भाषामा निर्माण गरिनेछ । फिल्मलाई रामोजी स्टूडियो, नेपाल र बनारसमा खिच्ने तयारी निर्माताको छ । फिल्मका लागि हरिहर अधिकारी, नीता ढुंगाना, विपना थापा लगायतका कलाकार फाइनल भैसकेका छन् ।