‘ह्यारी कि प्यारी’मा खुलेका जितु, फिल्म चले फाइदै फाइदा


फिल्म पर्दामा लामो समयदेखि काम गरिरहेका छन्, कलाकार जितु नेपाल । दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरेसँग जितुले ६ वटा फिल्ममा सहकार्य गरे । ६ वटा फिल्मले नै दर्शकको उच्च साथ पाए । तर, धेरै कलाकार हुँदा जितु कही कतै खुल्न पाएका थिएनन् । 

तर, भोली शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘ह्यारी कि प्यारी’मा भने उनलाई नायकको रुपमा प्रस्तुत गरिएको छ । फिल्ममा उनको जोडीको रुपमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले काम गरेकी छिन् । यो फिल्ममा जितुले गज्जबको काम गरेका छन् । अझ, यसो भनौ फिल्म भरी उनी नै छाएका छन् । 

जितुका लागि यसकारण पनि यो फिल्म विशेष छ । किनकी, फिल्म हेर्न आउने दर्शकले उनको अभिनय क्षमतादेखि सिंगो फिल्म बोक्न सक्ने शक्ति देख्नेछन् । यसपटक, फिल्म चलेको खण्डमा यसको क्रेडिट उनको भागमा पुरा रुपमा पर्नेछ । 

एउटा गाउँको सोझो हरि कसरी ह्यारी बन्छ र संघर्ष भन्ने कथामा यो फिल्म छ । उनको साथमा, बिजय बराल पनि छन् । बिजय बराल त फिल्मको मेरुदण्ड नै हुन् । किनकी, उनले फिल्मलाई धेरै ठाउँमा बोकेका छन् । 

जितुको यो फिल्म चलेको खण्डमा उनलाई फाइदा नै फाइदा छ । किनकी, यो फिल्म चले जितु सिंगो फिल्म एक्लै बोक्न सक्ने कलाकारको रुपमा दहरिनेछन् ।