प्रिमियरमा मिडियाकर्मीलाई ‘पेन्डुलम’ नबनाइयोस्


फिल्मको प्रिमियरको अर्थ हुन्छ, सबैभन्दा पहिले फिल्म देखाउनु । रिलिजको केही दिन अगाडि फिल्म देखाएर आम दर्शकमा फिल्मप्रतिको सन्देश प्रवाह गर्न प्रिमियर गरिन्छ । 

यसैले, प्रिमियर विशेषगरि पत्रकारहरुका लागि महत्वपूर्ण मानिन्छ । किनकी, पत्रकारहरुले फिल्मको बारेमा सन्देश आम दर्शकमा प्रवाह गरेपछि त्यसले प्रभाव पार्छ । तर, नेपाली फिल्मका प्रिमियरमा पत्रकारहरुलाई पेन्डुलम बनाउन खोजिएको पाइन्छ । मंगलबार नै आयोजित फिल्म ‘ह्यारी कि प्यारी’को प्रिमियरमा पनि यस्तै दृश्य देखियो । 

विग मुभिजको २ र ३ नम्बरको पर्दा मेकरले बुकिङ गरेका थिए । आयोजकले पत्रकारलाई कहाँ राख्ने भनेर पनि खासै चासो देखाएको थिएन । पत्रकारहरु जहाँ पनि बसिहाल्छन् नि भन्ने खालको व्यवहार प्रिमियरमा देखियो । 

३ नम्बर हल पहिले नै आयोजकले बोलाएका अतिथीहरुका कारण भरिएको थियो । यतिसम्म कि, ३ नम्बर हलमा त पत्रकारहरुलाई राम्रोसँग प्रवेश गर्न पनि दिइएन । कार्यक्रमको चाजोपाजो मिलाउन बसेका एक फिल्मीकर्मीले त पत्रकारलाई ‘उता उता’ भन्दै हेयको भावनाले हलबाट बाहिर निकाले । एक जना पत्रकारहरुले मुखै खोलेर कमसेकम पत्रकारलाई सम्मान त गर्नुहोस् भन्दै आक्रोश पोखे । 

२ नम्बर हलमा पुगेका पत्रकारलाई पनि हलका कर्मचारीले माथिल्लो २ रोमा नबस्न भने । त्यो रो कसका लागि आयोजकले छुट्याएको हो पत्तो थिएन । यस्तो लाग्थ्यो, पत्रकारहरु त्यहाँ काम नपाएर गएका हुन् र सिट बाँकी रहिहाले उनीहरुलाई राख्ने आयोजकको सोच थियो । 

पत्रकार २ नम्बर हलमा बसेपछि आयोजकका एक जना व्यक्ति आए र ३ नम्बर हलमा कार्यक्रम भएकाले उता जान भने । अचम्म लाग्दो कुरा के भने, यही हलबाट केही समय अगाडि एक जना आयोजकका व्यक्तिले तल्लो स्तरको व्यवहार गर्दै पत्रकारलाई बाहिर निकालेका थिए । 

तर, पत्रकारहरु ३ नम्बर हलमा जान मानेनन् । पछि, फिल्मका निर्देशक र कलाकार २ नम्बर हलमै आए र कार्यक्रम गरे । 

पत्रकारको काम फिल्मको प्रचार मात्र गर्दिने हो भन्ने सोच राखेर आयोजना हुने यस्ता प्रिमियरको अर्थ के हो ? आयोजकले कमसेकम मिडियाकर्मीलाई कहाँ राख्ने भनेर पहिले नै किन व्यवस्था गर्न सक्दैन ? फिल्म चलेपछि एकैदिनमा ५ वटा हलसम्म पत्रकार चाहिने फिल्मीकर्मीहरु प्रिमियरमा भने किन यस्तो व्यवहार गर्छन् ?

यो बिषयमा चलचित्र पत्रकार संघ, समिक्षक समाज लगायतका रंग पत्रकारहरुका संघसंस्थाले पनि सोच्न आवश्यक छ । प्रिमियर कसका लागि गर्ने हो, पहिले स्पष्ट भएर मात्र प्रिमियर गर्ने कि अब ?