प्रिमियरमा ‘ह्यारी कि प्यारी’ लाई उत्कृष्ट प्रतिक्रिया

फिल्म ‘ह्यारी कि प्यारी’को आज कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको विग मुभिजमा प्रिमियरको आयोजना गरिएको थियो ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार जितु नेपालको मुख्य भूमिका रहेको ‘ह्यारी कि प्यारी’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ ।

फिल्म प्रदर्शनभन्दा तीन दिन अगाडि नै प्रिमियर गरेर निर्माण युनिटले सेलिब्रेटी र मिडियाकर्मीलाई फिल्म देखाएको हो । प्रिमियर हेर्न पुगेका चर्चित सेलिब्रेटीहरूले खुलेर प्रशंसा गरेका छन् । फिल्मप्रति शतप्रतिशत विश्वास भएपछि मात्र मेकरले प्रदर्शनभन्दा ३ दिन अगाडि नै प्रिमियर गरेका हुन् ।

शुक्रवार अर्थात् माघ २० गतेबाट देशभरका हलमा प्रदर्शन हुन लागेको फिल्म ‘ह्यारी कि प्यारी’ प्रिमियर हेरेर निस्किएपछि चर्चित कलाकारहरूले उत्कृष्ट भन्दै तारिफ गरे । फिल्ममा इमोसनल, कमेडी, सन्देश भएकाले यो फिल्म सबैले हेर्न पर्ने प्रतिक्रियाहरू दिएका छन् ।

फिल्म हेर्न कलाकारहरु मदन कृष्ण श्रेष्ठ, दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, किरण केसी, शिवहरि पौडेल, सन्तोष पन्त, रमेश उप्रेती निर्देशक ज्ञानेन्द्र देउजा, निर्देशक आकाश अधिकारी, निर्देशक विशाल भण्डारी, कमेडियन हिमेश पन्त गायक यश कुमार लगायत पुगेका थिए । फिल्म हेरेका अधिकांशले यसले उठान गरेको बिषयवस्तु मन पराएको बताए ।

फिल्ममा जितु नेपाल र साम्राज्ञी आरएल शाहको प्रेम सम्बन्धमा आउने उतारचढाव देखाइएको छ। त्यस्तै, विजय बरालको सिच्वेसनल कमेडीले फिल्मलाई रोमाञ्चकता थपिदिएको छ।  प्रिमियरमा पाहुनाहरूबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले फिल्म ‘ह्यारी कि प्यारी’ टिम पनि थप उत्साहित देखिएको छ ।

डाक्टर कपिल रिजालको कथा तथा निर्देशनमा तयार भएको फिल्ममा जितु र साम्राज्ञीसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।

सुदिप बरालको छायांकनमा तयार भएको यो फिल्ममा अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

फिल्मलाई सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरबी र डा. कपिल रिजालले मिलेर लेखेका हुन् । डाक्टर भोला रिजालको लगानीमा बनेको यो फिल्मले जितु र साम्राज्ञीको जीवनमा आउने विभिन्न उतारचढावको कथालाई देखाएको छ । फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा गरिएको छ ।