३ सय करोड क्लबमा साहरुखको ‘पठान’


५ दिन बक्स अफिसमा बम्पर व्यापार गरेको नायक साहरुख खान अभिनित फिल्म ‘पठान’ ३ सय करोड क्लबमा प्रवेश गरेको छ । यो फिल्मले भारतभरबाट ३०७ करोडको नेट कलेक्शन गरेको छ । 

सोमबार हिन्दी भाषामा २५.५० करोडको कमाई गर्दै यो चलचित्रले बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिएको छ । फिल्मले बुधबार हिन्दी भाषामा ५५ करोड, बिहिबार ६८ करोड, शुक्रबार ३८ करोड, शनिबार ५१.५० करोड र आइतबार ५८.५० करोडको कमाई गरेको थियो । हिन्दी भाषामा भने यो फिल्मले २९६.५० करोडको कमाई गरेको छ । 

फिल्मले अन्य भाषामा ६ दिनमा १०.७५ करोडको कमाई गरेको छ । योसँगै ‘पठान’ ३ सय करोड क्लबमा प्रवेश गर्ने साहरुखको पहिलो फिल्म समेत बनेको छ । यसअघि सन् २०१३ मा साहरुखको ‘चेन्नई एक्सप्रेस’ले सर्वाधिक नेट कलेक्शन गरेको थियो । यसपछि, निरन्तर साहरुख अभिनित फिल्मको बक्स अफिस खस्किएको थियो । तर, ४ बर्षसम्म फिल्ममा काम नगरेका साहरुखले बलिउडमा सुनामी नै ल्याइदिएका छन् । 

सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको यो फिल्ममा साहरुखको साथमा दीपिका पादुकोण र जोन अब्राहिमको मुख्य भूमिका छ ।