प्रियंकाको बाटोमा स्वस्तिमा


केही बर्ष अगाडिसम्म नेपाली फिल्म क्षेत्रमा राज गरेकी नायिका प्रियंका कार्कीको काम गराई गज्जबको थियो । उनी, फिल्मको एउटा गीतमा नृत्य गर्नदेखि अफर आएका कुनै पनि फिल्म नछाडी काम गर्थिन् । 

विज्ञापन, स्टेज कार्यक्रम, फिल्म, भिडियो सबैमा प्रियंकाको राज थियो । तर, उनको राज लामो समय टिकेन । छोटो समयमा नै उनलाई दर्शकले रुचाउन छाडे । अहिले कमब्याक गर्न प्रियंकालाई पहिलेको जस्तो सजिलो छैन । 

अहिलेकी चल्तीकी नायिका स्वस्तिमा खड्का पनि प्रियंकाको बाटोमा लागेकी छिन् । उनी, पनि फिल्म, म्यूजिक भिडियो, विज्ञापन, स्टेज कार्यक्रमदेखि फिल्मको एउटा  गीतमा समेत नृत्य गर्न पछि परेकी छैनन् । स्वस्तिमाले फिल्म ‘छक्का पन्जा ४’को ‘दर्शन सलाम’ बोलको गीतमा कम्मर मकाइन् । उनले, लगालग ३ वटा फिल्म साइन गरिसकेकी छिन् । 

‘भष्मे डन, अ‍ैँचो पैँचो र शुभबिबाह’ उनले काम गर्न लागेका फिल्म हुन् । विज्ञापनको माध्यमबाट पनि उनी दर्शकमाझ दैनिक आउँछिन् । म्यूजिक भिडियो पनि उनले काम गरिरहेकी छिन् । 
स्वस्तिमा सर्वाधिक व्यस्त र महंगी कलाकार हुन् । केही बर्ष अगाडि प्रियंकाले जसरी काम गरेकी थिइन्, आज स्वस्तिमा पनि त्यसरी नै काम गरिरहेकी छिन् ।