४ दिनमा ‘पठान’को नयाँ किर्तिमानः भारतमा २ सय, विश्व बजारमा ४ सय करोडको व्यापार


बलिउडलाई साउथ फिल्म बजारले उछिन्यो भन्ने टिप्पणी भैरहेको समयमा यो बर्षको सुरुवातमै नायक साहरुख खान अभिनित फिल्म ‘पठान’ संजीबनीबुटी बनेर आएको छ । 

यो फिल्मले विश्व बजारमा आक्रामक व्यापार मात्र गरेको छैन, अहिलेसम्म बनेका सबैजसो व्यापारको रेकर्डलाई पनि ध्वस्त बनाइदिएको छ । यस्तै, यो फिल्मले बनाएका केयौं यस्ता रेकर्डहरु छन्, जसलाई तोड्न अब रिलिज हुने नयाँ फिल्मलाई सहज छैन । 

यो फिल्मले भारतीय बक्स अफिसमा ४ दिनमै २ सय २० करोडको व्यापार गरेको छ । फिल्मले हिन्दी भाषामा बुधबार ५५, बिहिबार ६८, शुक्रबार ३८ र शनिबार ५१.५० करोडको व्यापार गर्यो । यस्तै, तामिल र तेलुगु भाषामा ४ दिनमा फिल्मले ७.५० करोडको व्यापार गरेको छ । यो बलिउडको कुनै पनि फिल्मले आजसम्म गरेको व्यापारमा ऐतिहासिक हो । 

फिल्मले विश्व बजारबाट ४ दिनमा ४ सय करोड ग्रस गर्ने फिल्मको रेकर्ड समेत राखेको छ । फिल्मले भारतीय बजारमा ४ दिनमा २६५ करोडको ग्रस कलेक्शन गर्दा ओभरसिजमा १६४ करोड ग्रस कलेक्शन गरेको छ । फिल्मले ४ दिनमा नै ४२९ करोडको ग्रस कलेक्शन गरेको छ । 

यो फिल्मले आज आइतबार पनि अर्को ऐतिहासिक व्यापार गरेको छ । फिल्मको व्यापार आज आइतबार भारतमा ६० करोड माथि रहने पक्का देखिएको छ । यसैले, यो फिल्म रिलिजको छैटौं दिनमा नै ३ सय करोड क्लबमा प्रवेश गर्नेछ । फिल्मले हिन्दी भाषामा ‘बाहुबली २’ले बनाएको ५१२ करोडको रेकर्डलाई समेत तोड्ने विश्लेषण भैरहेको छ । 

४ बर्ष पर्दामा फर्किएका साहरुख खानले आफ्नो स्टारडमको उचाई विश्व बजारलाई देखाइदिएका छन् । फिल्ममा दीपिका पादुकोण र जोन अब्राहिमको पनि मुख्य भूमिका छ ।