स्वस्तिमा भन्छिन्–‘२ मिनेटको भूमिकाको प्रतिक्षा छ’


फिल्म ‘पशुपति प्रसाद २ भष्मे डन’मा काम गर्न लागेकी नायिका स्वस्तिमा खड्काले आफूलाई २ मिनेटको भूमिकाको प्रतीक्षा रहेको बताएकी छिन् । फिल्म ‘पशुपति प्रसाद’मा नायिका वर्षा सिवाकोटीको ५ मिनेटको मात्र भूमिका थियो । तर, पनि उनको ५ मिनेटको भूमिकाले राम्रो प्रभाव पारेको थियो । 

फिल्म ‘पशुपति प्रसाद २ भष्मे डन’मा काम गर्न लागेकी स्वस्तिमाले पत्रकारले तपाई पनि ५ मिनेट मात्र देखिने हो कि के हो भनेर प्रश्न सोधेका थिए । जसको जवाफ दिँदै स्वस्तिमाले आफूलाई फिल्ममा समयले असर नगर्ने बताइन् ।

उनले भनिन्–‘म कहिले पनि मेरो भूमिका कति छ भनेर हेर्दिनँ । सुरुवातमा त तपाइहरुले नै मलाई सहायक नायिका भनेर समाचार लेख्नुहुन्थ्यो । मलाई फिल्मको भूमिका कस्तो छ र त्यसले पार्ने प्रभाव के हुन्छ भन्ने कुराले बढी असर गर्छ । मलाई अहिले फिल्ममा केन्द्रीय भूमिकामा काम गर्न थालेपछि धेरै निर्माताले सानो भूमिकामा अफर गर्न छाड्नुभएको छ । उहाँहरूलाई मैले काम गर्दिनँ होला भन्ने लागेको छ । तर, म २ मिनेटको भूमिकाको प्रतीक्षामा छु ।’

स्वस्तिमाले यो बर्ष मात्र ३ वटा फिल्म साइन गरिसकेकी छिन् । उनले, कृषा चौलागाईंको फिल्ममा काम गर्ने पक्का छ । यस्तै, उनले आसिफ शाहको ‘शुभ विवाह’मा पनि काम गर्न लागेको खबर बाहिरिएको छ । उनी, फिल्म ‘पशुपति प्रसाद २ भष्मे डन’मा पनि काम गर्दैछिन् ।