म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पस मिलेर सर्ट फिल्म प्रतिस्पर्धा गर्ने, विजेता फिल्मलाई २ लाख
म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा सर्ट फिल्म कम्पिटिसन हुने भएको छ । बिहीबार नेपाल फिल्म क्याम्पसमा आयोजित औपचारिक कार्यक्रममा फिल्म निर्माण रुचि भएर पनि प्लेटफर्मको खोजीमा रहेका फिल्मकर्मीलाई लक्षित गरी प्रतिस्पर्धा गर्न लागिएको जानकारी गराइएको थियो ।
बिहीबारदेखि नै सहभागिताका खुल्ला गरिएको प्रतिस्पर्धामा फिल्म निर्माणमा रुचि भएका जोकोहीले पनि भाग लिन सक्ने कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल फिल्म क्याम्पसका प्रमुख शिशिर उप्रेतीले अवसरको खोजीमा रहेका फिल्मकर्मीका सर्ट फिल्म कम्पिटिसन गतिलो प्लेटफर्म बन्न सक्ने विश्वास व्यक्त गरे । उनले धेरै लगानी गरेर फिल्म बनाउन गाह्रो हुनेका लागि यस्ता प्रतिस्पर्धा वरदान हुनसक्ने भन्दै सहभागिताका आव्हान गरे ।
‘फिचर फिल्म निर्माण निकै महँगो हुने गर्छ तर सर्ट फिल्म थोरै पैसामा पनि बनाउन सकिन्छ । तर हामीले पैसा छैन तर कथा छ भने पनि निर्माणमा हातेमालो गर्न तयार छौँ भन्ने सन्देश दिन यो प्रतिस्पर्धा आयोजना गरेका हौँ,’उनले स्पष्ट पारे ।
सांगीतिक क्षेत्रमा एकनासले राज गर्दै आएको म्युजिक नेपालले संगीतसँगै नेपाली सिनेमाका लागि पनि केही गरौँ भन्ने अभिप्रायले प्रतिस्पर्धाको आयोजनामा हातेमालो गर्न लागेको जानकारी गराए । म्युजिक नेपालको प्रतिनिधिको रुपमा बोल्दै राजीव लोहनीले भने, ‘म्युजिक नेपालले नेपालको संगीत क्षेत्रमा गरेको योगदान सर्व विदित नै छ । हामी दायरा फराकिलो पार्दै फिल्मकर्मीसँग काम गर्न इच्छुक छौँ । यो एउटा सुरुवात हो ।’
सर्ट फिल्म कम्पिटिसिनमा निर्णायकको भूमिका अनुप बराल, सुरक्षा पन्त र सुजित बिडारीले गर्नेछन् । कार्यक्रममा बोल्दै अनुप बरालले सर्ट फिल्मलाई बिरुवाको सानो रुपको रुपमा व्याख्या गर्दै सर्ट लम्बाइको हिसाबले सानो भए पनि सानो बनाउन झन् ठूलो मेहनत लाग्ने धारणा राखेका थिए ।
‘सर्ट फिल्म बनेको बेर्ना हो । यही बेर्ना ठूलो भएर रुख बन्छ र फल दिन्छ । फिल्मकर्मीका लागि पनि लघु फिल्म यस्तै बेर्ना हो । सानो चिज बनाउन झन् ठूलो मेहनत पर्छ तर सानो चिजकै सामथ्र्य ठूलो हुन्छ,’ उनले भने । उनले स्टिभन स्पिलवर्गको लघु फिल्म ‘एम्बलिन’को उदाहरण दिँदै उनले विश्वका महान् निर्देशकले पनि लघु फिल्म निर्माण गरेर फिचर फिल्मका लागि अनुभव बटुलेको दृष्टान्त दिएका थिए ।
कार्यक्रममा बोल्दै अर्का निर्णायक सुजित बिडारीले यस्ता प्रतियोगिताको महत्व कति हुन्छ भन्ने कुराको आफू भुक्तभोगी भएको बताउँदै यस्ता प्रतिस्पर्धाले भिज्युवल लिटरेसी निर्माण ठूलो योगदान गर्ने धारणा राखेका थिए ।
कार्यक्रमको अन्त्यमा बोल्दै अभिनेत्री सुरक्षा पन्तले म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पस मिलेर यस्ता कार्यक्रम गर्ने कुरालाई आफूले दुवैले कामको दायरा बढाउने पहलका रुपमा बुझेको बताएकी थिइन् ।
‘फिल्म कलेजले फिल्म पढाएर मात्र दायित्व पूरा हुँदैन । यस्ता कार्यक्रमले त्यसरी पढेको कुरालाई जाँच्ने अवसर पनि दिन्छन् र यसले सहकार्यको महत्व पनि बुझाउँछ ,’उनले भनिन्, ‘अर्को महत्वपूर्ण कुरा चाहिँ मलाई पनि धेरैले मसँग कथा छ के गरौँ भनेर पनि मेसेज गरिरहनु भएको हुन्छ । अब यता पठाउनुस् भन्न सजिलो भयो ।’
प्रतिस्पर्धामा सहभागी हुन चाहने फिल्मकर्मीले फागुन ३० सम्म कथासार बुझाउनु पर्नेछ भने चैत १७ भित्र स्क्रिप्ट बुझाउनु पर्नेछ । यसरी आएका स्क्रिप्टलाई निर्णायकद्धारा ३ दिन प्रशिक्षण दिइनेछ र यो पश्चात् पुनर्लेखन गरी आएका स्क्रिप्टमध्येबाट १० स्क्रिप्ट छानेर निर्माण सहायता प्रदान गरिनेछ । छानिएका १० फिल्मले निर्माणका लागि ७५ हजार नगद प्राप्त गर्नेछन् । यो प्रक्रियापछि निर्माण भएर आएका फिल्ममध्ये पहिलो बन्नेले २ लाख नगद प्राप्त गर्नेछ भने बाँकी अन्यले विधागत रुपमा नगद पुरस्कार पाउनेछन् । आयोजकका अनुसार स्क्रिप्ट तथा निर्देशनमा उत्कृष्ट हुनेले ५० हजार प्राप्त गर्नेछ भने अभिनय, छायांकन, सम्पादन र ध्वनिमा उत्कृष्ट काम देखाउनेले पनि समान ५० हजार नगद प्राप्त गर्नेछन् ।
प्रतिक्रिया