वैशाख १ मा ४ फिल्म रिलिज, थपियो ‘बिहे पास’


नयाँ बर्षलाई लक्षित गर्दै निर्माताहरुले आफ्नो फिल्मको प्रदर्शन मिति धमाधम तय गरिरहेका छन् । नयाँ बर्षमा फिल्मले सुखद कमाई गर्ने आशामा उनीहरुले प्रदर्शन मिति तय गरिरहेका छन् । यो मितिमा सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्म ‘प्रसाद २’ रिलिज हुने पक्का भैसकेको छ । यही मितिमा फिल्म ‘जारी’ पनि आउने निश्चित छ । 

यस्तै, यही मितिमा फिल्म ‘नाई नभन्नु ल ६’ पनि रिलिज हुने चर्चा छ । यही बिचमा अर्को फिल्म ‘बिहे पास’ पनि यही मितिमा रिलिज हुने भएको छ । 

फिल्मको सार्वजनिक नयाँ पोष्टरमा मुख्य कलाकारहरु दयाहाङ राई र नायिका प्रकृती श्रेष्ठलाई फिचरिङ गरिएको छ । प्रवेश पौडेलको निर्देशनमा तयार भएको यो फिल्मलाई आरआर फिल्म प्रोडक्शनले निर्माण गरेको हो । फिल्ममा रविन्द्र झा, वुद्दि तामाङ, शिशिर वाङ्देल, श्याम राई, बिशाल पहारी, सुवास गजुरेल, हिउँवाल गौतम लगायतका कलाकारको अभिनय छ । 

रोहित कट्टेलको प्रस्तुतिमा तयार भएको फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता र रोजन श्रेष्ठ निर्माताको रुपमा छन् । 

विवाहको बिषयलाई मुख्य कथा बनाइएको यो फिल्ममा शिव ढकालको छायांकन, मित्र डी गुरुङको सम्पादन, प्रवेश मलिकको संगीत, मर्रे केर, आकाश बराल, साजन काफ्लेको कथा, आकाश र साजनको पटकथा तथा संवाद छ ।