छैटौँ संस्करण निफ चैत २ देखि, ३५ देशका ९५ फिल्म प्रतिस्पर्धामा

नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) आउँदो चैत्र २ गतेदेखि हुने भएको छ ।

बुधवार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच निफले छैटौँ नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवको औपचारिक घोषणा गरेको हो । ‘विश्वका कथाहरूको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको यो फेस्टिभलको छैटौँ संस्करण २०२३ चैत दुई गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म हुनेछ ।

नीफमा यो वर्ष ३५ देशका ९५ वटा फिल्महरूले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष नियमित रूपमा महोत्सवको आयोजना गर्दै आएको हो । आयोजक संस्थाका अध्यक्ष केपी पाठकले पत्रकार सम्मेलनमा महोत्सवका लागि विश्वका विभिन्न ५५ देशबाट पाँच सयभन्दा बढी फिल्म प्राप्त भएको जानकारी दिए । ती फिल्म संसारका ५५ देशबाट प्राप्त ५ सय बढी फिल्मबाट छानिएको हो।

यस पटकबाट निफका प्रतिस्पर्धी फिल्म हलमा प्रदर्शन गर्ने र क्युएफएक्स सिनेमासँगको सम्झौता अनुसार काठमाडौँको छायाँ सेन्टर सिभिल महल, ललितपुरको लबिङ महल र भक्तपुरको क्युएफएक्स हलमा फिल्म प्रदर्शन हुने भएको छ ।

महोत्सवमा रचनात्मक कार्यक्रमलाई विशेष महत्त्व दिने र चलचित्र क्षेत्रका ख्यातिप्राप्त र अनुभवी फिल्मकर्मी र कलाकारहरूको सहभागितामा विभिन्न कार्यक्रम, अन्तरक्रिया र छलफल कार्यक्रमसमेत हुने बताइएको छ ।

कार्यक्रम प्रमुख अतिथि भुवन केसीले महोत्सवमा छानिएका फिल्महरू क्युएफएक्सले हलमा देखाउने निर्णय गरेको प्रशंसनीय रहेको बताए । यसै गरी अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा चलचित्र विकास र्बोडको निरन्तर सहयोग रहनेसमेत प्रतिबद्धता गरेका छन्।

कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले नीफले नेपाली फिल्मलाई विदेशमा चिनाउन र विदेशी फिल्मलाई नेपालमा चिनाउन मद्दत गरेकोमा खुसी व्यक्त गरे । ‘यस वर्षदेखि निफले क्यूएफएक्ससँगको सम्झौता र दोस्रो माया एनिमेसन एकेडेमीसँगको मित्रता जोड्न सफल भएको छ,” उनले भने, “फिल्म महोत्सव र कार्यक्रम वर्षभरि नै चल्ने गर्छ तर हामीले उच्च स्तरबाट मूल्याङ्कन गर्नुपर्ने इभेन्ट हो अन्तर्राष्ट्रिय फिल्म महोत्सव ।”

शाहले निफ सम्झन योग्य चलचित्र महोत्सव भएको र नेपाल सरकारले यस्तो कार्यक्रमलाई सहयोग गर्नुपर्ने बताए। उनले भने, ‘विकास बोर्डका अध्यक्ष भुवन केसीलाई म अनुरोध गर्छु, कि यस कार्यक्रमलाई सहयोग गर्न सरकारसँग प्रस्ताव राखिदिनुहोस्।’

चिनियाँ सांस्कृतिक केन्द्रका निर्देशक स्याओ च्याङले निफजस्ता फेस्टिभल गर्न मेहनत लाग्ने र नेपाली फिल्मको विकासमा निफको भूमिका महत्त्वपूर्ण रहेको बताएकी छिन् ।

यस्तै, कलाकार सरिता गिरीले 'नीफ'लाई पुराना फिल्म निर्देशकसँगै नयाँ पुस्ताका लागि पनि यो ठुलो उत्सव भएको बताइन । सुरुवातका दिनमा भन्दा आज यो महोत्सव अझै वृहत् भएको उनको अनुभव छ ।

यस पटकबाट निफका प्रतिस्पर्धीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरुको ७ विधामा १४ पुरस्कार वितरण गरिनेछ।  सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड, प्रदान गरिनेछ भने इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिजका जुरीको तर्फबाट डन क्विजोट अवार्ड पनि प्रदान गरिनेछ।

सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड फिल्मलाई ५ सय डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट सर्ट फिल्मलाई ५ सय डलरको बाग्मती अवार्ड प्रदान गरिनेछ।

नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख, उत्कृष्ट सर्ट फिल्मलाई नगद ५० हजार  र सर्टमध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ।

फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिने छ। 

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, वरिष्ठ कलाकार नीर शाह, गौरी मल्ल,दीपाश्री निरौला, निर्मल शर्मा, रेजिना उप्रेती, सरिता गिरीलगायत फिल्मकर्मी उपस्थित थिए।